२० असोज, काठमाडौं । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराउँदै जीत हाँसिल गरेको छ ।
नेदरल्याण्ड्सले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएको हो ।
ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन बनायो ।
पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे ।
तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो । तर थप ३६ जोड्दा सबै विबेट गुमायो । ओ’डाउडले ४३ रन बनाए ।
एकरम्यानले २९ र स्टलले २१ रन बनाए । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ४-४ विकेट लिए ।