२२ असोज, एजेन्सी ।
राष्ट्रपति कार्यालय ह्वाइटहाउसले डेमोक्रेटिक दलका सांसदले थालेको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने जनाएको छ ।
राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन भइरहेको छानबिन दलीय पूर्वाग्रहपूर्ण र असंवैधानिक भन्दै ह्वाइटहाउसले विपक्षी दलका सांसदले थालेको छानबिनलाई नसघाउने बताएको हो ।
डेमोक्रेटिक दलका शीर्ष नेताहरुलाई पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा नसघाउने बताएको बीबीसीले जनाएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका लागि अमेरिकी राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन निर्देशन दिनुभएको थियो । तर सभामुख न्यान्सी पेलीसीले राष्ट्रपति ट्रम्पले छानबिनमा बाधा पुर्याएको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको विवादास्पद फोन वार्ताको तयारी तथा अन्य विषयबारे सोधपूछ गर्न राजदुतलाई बोलाउने अमेरिकी सदनको तयारी छ ।
अमेरिकी संसदमा डेमोक्रेटिक पार्टी नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोय लगाउनेबारे छानबिन गरिरहेका छन् ।
