महरालाई सँगै लगेर सभामुख निवासको खानतलासी

२२ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख भवन बालुवाटार लगेर उनकै उपस्थितिमा प्रहरीले घर खानतलासी गरेको थाहा भएको छ ।

Advertisement

महरा पक्राउ परेको असोज १९ गते राति नै प्रहरीले उनलाई लिएर खानतलासी गर्न बालुवाटारस्थित सभामुख निवास गएको थियो । केही घन्टाअघि मात्र उनलाई त्यही निवासबाट पक्राउ गरिएको थियो ।

पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा केही बेर राखेपछि उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। त्यहाँबाट सिधै बालुवाटार लगेर प्रहरीले सभामुख निवास खानलतासी गरेको हो।

Advertisement

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको हो। महराले आफूमाथि बलात्कारको प्रयास र हिंसा गरेको शाहीले आरोप लगाएकी छन्।

आफूसँगको घम्साघम्सीमा महराको चश्मा भाँचिएको शाहीले बताएकी थिइन्। शाहीको डेराबाट निस्कने बेला महराले भाँचिएको चश्माको खुट्टा, आफूले लिएर गएको रक्सीको बोतल र जुत्ताको तलुवा त्यहीँ छाडेका थिए। प्रहरीले चश्माको खुट्टा, रक्सीको बोतल लगायत प्रमाण संकलन गरी ’फरेन्सिक ल्याब’ मा परीक्षण गर्न पठाएको छ।

Advertisement

अन्य सम्भावित प्रमाणका अलावा घम्साघम्सीमा भाँचिएको चश्मा खोज्न प्रहरी मध्यरात सभामुख निवास पुगेको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई बतायो। भाँचिएको चश्मा भेटिए असोज १२ गते रोशनीको डेरामा उनी र महराबीच भएको भनिएको घम्साघम्सीको बलियो प्रमाण हुनेछ। खानतलासीमा उक्त चश्मा भेटियो वा भेटिएन यकिन छैन।

महरा त्यस रात शाहीको डेरामा गएको सिसिटिभी फुटेज भने प्रहरीले जुटाइसकेको छ। साथै, बरामद रक्सीको बोतलमा उनको हातको निसान भेटिने पनि प्रहरीको आस छ।

असोज १९ गते पक्राउ परेका महरा अझै सिंहदरबार प्रहरी वृत्तमै हिरासतमा छन्। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ

प्रहरीले महराको नजिकका मानिससँग भने सोधपुछ गरिरहेको छ। असोज १२ को घटनापछि शाहीलाई आफ्नो प्रभावमा पारेर बयान फेर्न लगाएको, प्रहरी चौकी पुर्याएर आफूले केही नगरेको निवेदन दिन लगाएको, उनको फेसबुक नियन्त्रणमा लिएर जथाभाबी लेख्न लगाएको आरोप महरालाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top