विराटनगर, फागुन १४
प्रथम अन्तरविद्यालय स्तरीय फुटसल कप प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अपर्ण बोर्डिङ स्कूलले जितेको छ । विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा आज सम्पन्न फाइनलमा पोखरीया स्कूललाई ७–४ गोलअन्तरले पराजित गरी अपर्ण स्कूलले फुटसलको उपाधि जितेको हो ।
जितका लागि अपर्णका युगल कार्कीले चार गोल र उत्सव कार्कीले ३ गोल गरे भने उपबिजेता बनेको पोखरीया स्कूललका कौशल तामाङले दुई गोल तथा अनिस कोइराला र केशव श्रेष्ठले १÷१ गोल गरेका थिए ।
फाइनलको म्यान अफ द म्याच अपर्णका ४ गोल गर्ने युगल कार्की घोषित भए । प्रतियोगिताको अनुसाशित टिम विराटनगरमा रहेको गोदावरी बोर्डिङ स्कूल भयो ।
विजयी हुने खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि हिसान मोरङका अध्यक्ष बलराम पन्त, मोरङ फुटबल संघका उपाध्यक्ष विमल राजभण्डारी, डाइनमिक एजुकेशनका प्रमुख मनिष सहनी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष विष्णु डंगोललगयायले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताको आयोजना एमएचयन, प्याब्सन मोरङ, प्याब्सनको क्षेत्र नम्बर १, २, ३ र लायन्स क्लब अफ विराटनगर एकाडेमी, लायन्स क्लब अफ विराटनगर फ्यिूजनले गरेको थियो ।