१६ कात्तिक, काठमाडौँ ।
निजी आवासीय घर बनाउने प्रयोजनका लागि कर्जा लिने सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले बम्पर योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले पहिलोपटक घर बनाउन चाहने व्यक्तिलाई कर्जाको सीमा बढाउनेदेखि ब्याज बढे पनि किस्ता नबढ्नेगरी आकर्षक योजना ल्याएको हो ।
इजाजत प्राप्त संस्थाहरुका लागि तयार गरेको एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं ३ अन्तर्गत एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले पहिलोपटक घर खरिद गर्ने व्यक्तिका लागि जग्गा धितोमा दिने ऋणलाई जग्गाको मूल्यको ७० प्रतिशतसम्म दिन सकिनेगरी सीमा बढाएको हो । यसअघि यस्तो धितोमा ६० प्रतिशतसम्म मात्रै थियो ।
राष्ट्र बैंकले त्यसरी लिने ऋणको सीमा भने १ करोड ५० लाख रुपैंयासम्म नै हुने व्यवस्थालाई निरन्तरता दिएको छ । साथै सो भवन ऋणी आफैंले प्रयोग गर्नुपर्ने र ३ हजार वर्गफिटसम्मको हुनुपर्ने सीमा समेत निर्धारण भने गरेको छ ।
त्यस्तै, पहिलोपटक घर बनाउन चाहनेहरुले लिएको ऋणमा बैंकको ब्याजदर वृद्धि भए पनि तोकिएको किस्ता भन्दा बढी बुझाउन नपर्ने बरु किस्ताको समयसीमा बढ्नेगरी व्यवस्था मिलाउनुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
तर, बैंकले घरभाडाबाट प्राप्त हुने आम्दानीलाई त्यसरी लिने ऋणको स्रोतको रुपमा देखाउन नपाइने व्यवस्था गरेको छ । यसले गर्दा घरभाडा लिएर घर बनाउने प्रयोजनका लागि पुरानै व्यवस्थाअनुसार मात्रै ऋण लिन सकिन्छ । (विकास न्युजबाट)

