१७ कात्तिक, काठमाडौँ ।
नेपालीहरुले आफ्नै देशमा उत्पादन भएको ग्यास प्रयोग गर्न पाउने भएका छन् । चाइनिज जियोलोजिकल सर्वेको आर्थिक र प्रविधिक सहयोगमा खानी तथा भू–गर्व विभाग सहभागितामा नेपालमा नै ग्यास उत्खनन् कार्य अघि बढेको हो ।
चाइनिज जियोलोजिकल सर्वेले दैलेखको चुप्रामा क्याम्प स्थापना गरी काम सुरु गरेको छ । दैलेखको चुप्रामा क्याम्प राखी ४० किलोमिटरको क्षेत्रमा काम भइरहेको छ । ग्यास उत्खनन् र परीक्षणका लागि चाइना जिओलोजिकल सर्वे र नेपालको तर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागी क्याम्प स्थापना गरी काम सुरु गरेको हो ।
खानी तथा भू–गर्व विभागका उप प्रमुख तथा परियाजना प्रमुख सुधिर रैजोरले भने–‘चीन सरकारको सहयोगमा नेपाल सरकार र चीनको सरकारी निकायबीच समन्वय गरी ग्यास उत्खननको काम भइरहेको छ ।’ हामीले आवश्यकता पर्ने सामाग्रीहरु सबै चीनबाट ल्याएर काम सुरु गरेका हौ । अब १ वर्ष भित्र दैलेखमा कति ग्यास छ भनेर थाहा हुने र १ वर्षपछि नेपालले नै ग्यास उत्खनन् गर्ने उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको त्तकालीन सरकारले नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खनन गर्न सकिने घोषणा गरेको थियो ।
त्यतिबेला नै अनुसन्धान गरी चीन फर्केको चिनियाँ टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन् गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन् गर्ने बाटो खुलेको थियो ।
दैलेखको नाभिस्थान, पादुका, शिरिस्थान, धुलेश्वरलगायत क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको अनुसन्धानबाट पुष्टी भैसकेको छ । नेपालमा पेट्रोलियम पदार्थ मात्रै होईन सुन, तामा, फालम लगायतका खानी समेत रहेका छन् ।(विकास न्युजबाट)

