धरान, फागुन २०
चिठ्ठा परेको भन्दै लाखौं रुपैयाँ ठगी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । दिन प्रतिदिन चिठ्ठा परेको भन्दै ठगीएको उजुरी प्रहरीमा पर्न थालेपछि सिआईवी र धरान प्रहरीको टोलिले गिरोहमा संलग्न ५ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ महेन्द्र चौक डेरा गरी बस्ने ४० बर्षीया अनिताकुमारी राउत र उनका छोरा २३ बर्षीय आशिष राउत क्षेत्रीलाई प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको हो भने ६१ बर्षीय टिकाराम जैसी, ३१ बर्षीय यशकुमार थापा र ३७ बर्षका प्रितमबहादुर गुरुङ्गलाई काठमाण्डौबाट सिआइवी र प्रहरीका टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका राउत आमा छोराले चिट्ठा परेको भन्दै रमेश श्रेष्ठबाट मात्र २ लाख ३७ हजार ठगी गरेका थिए । अन्य विभिन्न स्थानका व्यक्तिहरुलाई चिट्ठा परेको भन्दै ७ लाख ४८ हजारभन्दा बढी ठगी गरेको धरान प्रहरीले बताएको छ ।
यस्तै पक्राउ पर्नेमा लमजुङ रानीबास गाउँपालिका वडा नं. ११ का प्रितमबहादुर गुरुडले ५ लाख, नवलपरासी देवचुली–८ बस्ने यशकुमार मगरले २० हजार, वाग्लुङ नगरपालिका वडा नंं १२ बस्ने टीकाराम जैसी पाठकले ३ लाख २९ हजार रुपैयाँ ठगी गरेको पाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
पक्राउ गरेका पाँचै जनालाई ठगी मुद्दाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ भने उनीहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।