काठमाडौं, फागुन २१
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनताको बहुदलीय जनवाद संसारकै उत्कृष्ट विचार भएको बताएका छन् । करीब २ दशक अघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले जबज संसारकै उत्कृष्ट विचार रहेको बताएका हुन् ।
उनले उत्कृष्ट बिचार भएकैले पार्टी एकता पछि पनि जबजको सिद्धान्त आफुले नछाड्ने घोषणा गरेका छन् । छाड्न नसकिने बताएका हुन् । उनले बरु अझ जबजको सान्दर्भिकता अझ बढेको बताए ।
गौतमले अहिलेको पार्टी एकीकरणसम्म आउने आधार पनि एमालेले अंगिकार गरेको जबजले नै तयार पारेको दावी गरे । रुसमा समाजवाद असफल भएपछि एमालेले अंगिकार गरेको जबज नै संसारको उत्कृष्ट विचार भएको उनको दाबी छ ।
आफूले कहिल्यै माओवाद र माओवादी जनयुद्धलाई समर्थन नगरेको भन्दै गौतमले माओवादीलाई जबजको लाइनमा ल्याउन खोज्दा आफूलाई एमालेभित्रैबाट माओवादीको आरोप लगाइएको स्मरण गरे ।
एमाले र माओवादी एकीकरणका शुत्राधार मानिएका गौतमले केपी ओली र प्रचण्डलाई तयार पार्न निकै मेहनत गरिएको बताए । ९ वर्षदेखि पार्टी एकीकरणका लागि प्रयास गरे पनि प्रचण्ड र ओली दुवै नेता तयार भएपछिमात्र एकता सम्भव भएको सुनाए ।