दैलेखको पेट्रोलियम अन्वेषण सफलतानजिक

१९ मंसिर, दैलेख ।

यहाँ सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलतानजिक पुग्दै गएको छ। जिल्लाका भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो। पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्भेको काम अहिले तीव्र पारिएको छ। सर्भेको निष्कर्ष छिट्टै आउने अपेक्षा छ। चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलीले अन्वेषणका विभिन्न काम एकसाथ अगाडि बढाएका हुन्। विदेशमा पेट्रोलियम अन्वेषणमा काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन्।

अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत ल्याइएको छ। साइस्मिक सर्भेअन्तर्गत जमिनभित्र तरंग पठाउने काम सुरु गर्न थालिएको छ। विभिन्न चारवटा सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ। नेपाल र चीन सरकारबीचको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भू–भागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमिनमुनि ड्रिलिङ गर्ने काम सुरु गरिएको छ।

Advertisement

सर्भेका लागि तयार पारिएका १० सर्कलमा अहिले १० समूह निर्माण गरी ड्रिलिङ सुरु गरिएको छ। दसमध्ये एउटा सर्कलमा जमिनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो। अन्य सर्कलमा उक्त कार्य तीव्र रुपमा अगाडि बढेको छ। जमिनमुनि तरंग पठाएर तरंगको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भू–गर्भविद एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भू–गर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए।

पहाडी भू–भाग भएकाले साइस्मिक सर्भेका लागि आवश्यक उपकरण लिन र लैजानसमेत समस्या हुने गरेको छ। भिरालो जमिन र बढीजसो स्थानमा चट्टान भएका कारण सामान्य समस्या भए पनि कामको गति नरोकिएको अन्वेषणमा संलग्न टोलीले जानकारी दिएको छ। अन्वेषणका लागि ड्रिलिङ मेसिन राख्नुपर्ने, त्योसँगै जेनेरेटरलगायत सामान लैजान केही समस्या छ। एक समूहमा आठ नेपाली कामदार र दुईजना विज्ञ सम्मिलित टोलीले विभिन्न दसवटा सर्कलभित्र काम गरिरहेका छन्।

Advertisement

चट्टानका कारण कहिलेकहीँ मेसिनमा सामान्य समस्या उत्पन्न हुने गरे पनि तत्काल मेसिन निर्माण गरेर काम सुरु भएको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिए। अन्वेषण कार्यका लागि आवश्यक पर्ने सबैखाले सुरक्षा व्यवस्था मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्रिय महत्वको परियोजना भएकाले जिल्लाको समग्र सुरक्षाको व्यवस्थापन गरिएको र परियोजना सफल भए आर्थिकरुपमा नेपालले ठूलो फड्को मार्ने बताए।

‘हामीले टोली खटिएको लगायत अन्य विषयमा नजिकको प्रहरी वा अन्य सुरक्षा निकायलाई दैनिक रुपमा भेटघाट गर्ने र कुनै स्थानमा अभान्छित गतिविधि भए तत्काल कारवाही प्रक्रिया थाल्न निर्देशन दिएका छौं,’ प्रजिअ कट्टेलले भने। अन्वेषणका लागि आवश्यक पर्ने सामान चुप्रा क्याम्पमा राखिएको छ। दिनभर विभिन्न भू–भागमा काम गरेर टोली साँझ क्याम्पमै फर्कने गरेको छ। दुल्लुमा पनि क्याम्प निर्माण गरिने भनिए पनि काम गर्ने सबै स्थान नजिकसम्म यातायातको सुविधा पुगेका कारण अहिले चुप्राकै क्याम्पबाट काम सुरु गरिएको छ। आवश्यकताअनुसार दुल्लुमा पनि क्याम्प खडा गर्ने तयारी आयोजनाको छ।

पेट्रोलियम अन्वेषणको काम संवेदनशील भएको र खोज–अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षित रुपमा गर्नुपर्ने भएकाले कुन भू–भागमा कति परिमाणमा छ या छैन भन्ने कुराको यकिन भएपछि मात्र सञ्चारमाध्यममा यसको प्रगति दिने, त्यसअघि वा पछि चिनियाँ टोलीले कुनै प्रतिक्रिया नदिने बताइएको छ। साइस्मिक सर्भेपछिको रिपोर्टका आधारमा उपयुक्त स्थानको खोजी गरेर भण्डारणका बारेमा थप अनुसन्धान थालिने भएको छ। रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top