जडीबुटी सङ्कलन गर्न गएका १२ जना बेपत्ता

२९ मंसिर ७६, सोमबार

३० मंसिर, सुर्खेत ।
जडीबुटी सङ्कलन गर्न गएका तिला गाउँपालिका ९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् ।

Advertisement

उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुई दिन लाग्छ ।

सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए तर गएको दिनदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाकै अवस्था अज्ञात छ ।

Advertisement

बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका त्यही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार तिला गाउँपालिका ६ को नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको ज्यान गएको र अन्य चार जना गोठाला भने सकुशल फर्केका छन् ।

भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाहरुको उद्धारको लागि गृह मन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृह मन्त्रालयसँग आग्रह गरिएको बताए । एकै गाउँका १२ जना बेपत्ता भएपछि ढिपुगाउँ चिन्तामा डुबेको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top