१६ कार्तिक , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूलाई लक्षित गरी गरिएको सैन्य कारबाहीमा अमेरिका ‘अलि बढी नै अगाडि बढेको हुन सक्ने’ टिप्पणी गरेका छन् । मंगलबार हुने मध्यावधि चुनावको एक दिनअघि आइवा राज्यको डुबुक सहरमा रिपब्लिकन पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयको बचाउ गर्दै वासिङ्टनले नभई तेहरानले नै द्वन्द्व सुरु गरेको दाबी गरे । उनले हालैका चुनावी ¥यालीमा व्यक्त गरेका धारणा दोहो¥याउँदै इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक राष्ट्रका रूपमा चित्रण गरे । “मैले हाम्रो राष्ट्रलाई संसारको नम्बर एक आतंकवाद प्रायोजकबाट जोगाएको छु,” उनले भने ।

ट्रम्पका अनुसार सन् १९७९ को इरानी क्रान्तिपछि इरानले अमेरिकामाथि आक्रमण गर्दै आएको छ । उनले सन् २००० मा यमनको एडेन बन्दरगाहनजिकै अमेरिकी युद्धपोत यूएसएस कोलमाथि भएको आक्रमण तथा इराकलगायत देशमा अमेरिकी सेनालाई लक्षित गरी गरिएका सडक किनारका बम विस्फोटका लागि पनि तेहरानलाई जिम्मेवार ठहराए ।
यूएसएस कोलमाथिको आक्रमणको जिम्मेवारी भने अलकायदाले लिएको थियो । ट्रम्पले अमेरिकी सेनाले त्यसको जवाफमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको बताए । उनले सुलेमानीलाई ‘सडक किनारका बमका पिता’को संज्ञा दिए ।

ट्रम्पको पहिलो कार्यकालमा सन् २०२० जनवरीमा बग्दादमा अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएका थिए । “उनीहरूले यो युद्ध सुरु गरेका हुन्, हामीले होइनौँ । हामी यसको अन्त्य गर्दै छौँ । हामी उनीहरूलाई राम्ररी तह लगाउँदै छौँ,” ट्रम्पले भने ।
उनले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा राडार प्रणाली तथा नेतृत्व तहलाई ध्वस्त पारेको दाबी गरे । तर, इरानी नेताहरूलाई लक्षित गरिएको कारबाहीबारे बोल्दै उनले थपे, “नेताहरूको मामिलामा हामी अलि बढी नै अगाडि बढ्यौँ कि जस्तो लाग्छ, किनकी त्यहाँ कुराकानी गर्न कोही पनि छैन ।”
ट्रम्पले यस्तो बताइरहँदा यता इरानले फेरि चेतावनी दिएको छ । सैन्य प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रामिनियाले अमेरिकाले नयाँ आक्रमण गरे तत्काल, कडा र विगतभन्दा व्यापक जवाफ दिने चेतावनी दिएका छन् । सम्भावित युद्ध पश्चिम एसियामा मात्र सीमित नहुने र विगतका द्वन्द्वभन्दा लामो समय चल्न सक्ने उनको भनाइ छ ।
उनले इरानको सैन्य सिद्धान्त रक्षात्मक अवस्थाबाट आक्रामक दृष्टिकोणतर्फ अघि बढिसकेको बताएका अलजजिराले जनाएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले पनि धम्कीको तत्काल र कडा जवाफ दिइने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले सम्भावित लक्ष्य र भौगोलिक क्षेत्रको दायरा सीमित नराखिने उल्लेख गरेका छन् । “युद्धको अन्त्य कसरी हुन्छ भन्ने निर्णय हामी आफैँ गर्नेछौँ, १२ दिने र ४० दिने युद्धका पराजितहरूले होइन,” उनले लेखेका छन् ।
इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेब्बीले सर्वोच्च नेता मोज्तबा खामेनीईका पछिल्ला अभिव्यक्तिले सम्भावित युद्धमा नयाँ अध्याय सुरु गरेको पनि बताएका छन् ।
राज्य सञ्चालित तास्निम समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा उनले अमेरिकासँगको सम्भावित द्वन्द्व भौगोलिक सीमामा सीमित नहुने र आईआरजीसीले नयाँ लक्ष्य पहिचान गर्नुका साथै उक्त क्षेत्रमा सैन्य कारबाहीको योजना बनाइरहेको बताएका छन् ।
शनिबार खामेनीईले अमेरिकी र इजरायली धम्कीको सामना गर्न सैन्य कमान्डरहरूलाई युद्धका निम्ति तयार रहन निर्देशन दिएको खबर सार्वजनिक भएको थियो । यसैबीच, युद्ध अन्त्यका निम्ति अमेरिकासँग वार्ता गर्न इरानी प्रतिनिधिहरूलाई दोहा पठाइएको जनाइएको छ ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग तनावकाबिच आफ्नो देशले प्रस्तावित सातदिने योजनालाई दुई दिनमा घटाएको बताएका छन् । टेलिभिजन नेटवर्क अल जजिरालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि संयुक्त राज्य अमेरिकाले पहिलो दिन इरानका सर्त पूरा ग¥यो भने दोस्रो दिन हर्मुज स्ट्रेट खोलिनेछ।’
इरानको सातदिने योजनामा मूल रूपमा तनाव कम गर्ने, हर्मुज खोल्ने र नयाँ वार्ता सुरु गर्ने कुरा छन् । अब यसलाई दुईदिनको फ्रेमवर्कमा घटाउने प्रस्ताव गरिएको छ । अराघचीले भनेका छन्, ‘यस प्रस्तावका विषयमा कतारी मध्यस्थकर्ताहरूसँग छलफल जारी छ । यद्यपि अहिलेसम्म कुनै अन्तिम सम्झौता भएको छैन । प्रस्ताव कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा इरानका प्रश्नमा अर्को पक्षले दिने जवाफमा निर्भर गर्नेछ।’
इरानका विदेशमन्त्रीको यो भनाइ फारसी खाडीमा धेरै अन्य तेल र ग्यास ट्यांकरलाई निसाना बनाइएको समाचार सार्वजनिक भएका बेला आएको हो । उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने मध्यावधि निर्वाचनलगत्तै इरानमा फेरि ठुलो आक्रमण गर्ने तयारीमा लागेको समाचार सार्वजनिक भएको छ ।
यसैबीच यता साउदी अरबको आभा सहरमा सम्भावित खतरालाई ध्यानमा राख्दै आइतबार राष्ट्रिय आपत्कालीन चेतावनी जारी गरिएको थियो । बीबीसी उर्दुका अनुसार प्रशासनले मानिसहरूलाई शान्त रहन र सावधानी अपनाउन भनेको थियो ।
साउदीको नागरिक रक्षा विभागले जारी गरेको निर्देशिकामा मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थान वा घरभित्र झ्याल नभएको कोठामा सर्न भनिएको थियो । अनि जरुरी कामबिना घरबाट बाहिर ननिस्कन र खतरा नहटेसम्म खुला ठाउँ, झ्याल, बाल्कोनी र छानाबाट टाढा रहन सल्लाह दिइएको थियो ।
नागरिक रक्षा विभागका अनुसार, घरबाहिर रहेकाहरूले पनि तुरुन्तै नजिकैको भवन वा बलियो पर्खाल पछाडि आश्रय लिनुपर्छ । साथै गाडी चलाइरहेको अवस्था हो भने गाडीलाई तुरुन्तै सुरक्षित स्थानमा रोक्न र पुल वा अग्लो भवनबाट टाढा रहन निर्देशन दिइएको थियो ।
अधिकारीहरूले मानिसहरूलाई खतरनाक क्षेत्र र भेला हुनबाट बच्न नागरिकलाई सुझाव दिएका छन् । प्रशासनले कडा चेतावनी जारी गर्दै भनेको छ, मिसाइल, ड्रोन, वा तिनको सम्भावित प्रभावसँग सम्बन्धित कुनै पनि जानकारी, फोटो वा भिडिओ सार्वजनिक गरे कानुनी कारबाही हुन सक्छ ।
साउदी अधिकारीहरूले नागरिकहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न र आपत्कालीन अवस्थामा आपत्कालीन नम्बरहरूमा सम्पर्क गर्न सल्लाह दिएका छन् ।



