४ पुस, काठमाडौं ।
पाकिस्तानको एउटा अदालतले त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको मृत्युदण्डअघि नै मृत्यु भए शवलाई झुण्ड्याउन आदेश दिएको छ । लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा मृत्युदण्डअघि नै मृत्यु भए उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ ।
उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निश्कर्ष छ । पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ ।
पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे । मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनका वकिलले भने पुनरावेदन गर्ने बताएका छन् । ७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् ।
