एजेन्सी, पुस १७
भारतले चन्द्रयान–२ मार्फत पठाइएको विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने अन्तिम घडीमा चन्द्रमाको सतहमा ठोक्किएर असफल भएको केही महिनापछि तेस्रोपटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ ।
विक्रम ल्यान्डरको असफलतासँगै भारतमा केही हदसम्म निराशा छाएपनि भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के शिवनले मानवरहित चन्द्रयान–३ मिसनसम्बन्धी कार्य सहज रूपमै अघि बढिरहेको बताएका हुन् । त्यसको केही महिनामै भारतले पुनः चन्द्र सतहमा पुग्ने तेस्रो मिसन बनाउन थालेको बताएको हो ।
शिवनका अनुसार उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भइरहेको छ । तर कारणवश त्यो योजना सन् २०२१ सम्म लम्बिनसक्ने सम्भावना पनि रहेको उनले बताएका छन् ।
योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ भने यदि चन्द्रमाको दक्षिणी ध्रुवमा सो यान सकुशल ओराल्न सकेमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वकै पहिलो राष्ट्र कहलिनेछ । चन्द्रयान– लाइ यही लक्ष्यअनुसार पठाइएकोमा असफल भएको थियो । चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नै मिसन टोलीलाई भेटेर सान्वना दिएका थिए ।
चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीन मात्रै सफल मिसन कार्यान्वयन गर्न सफल भएका छन् । यसअघि सन २००८ मा भारतले चन्द्रयान–१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।
