उर्लाबारी, चैत १
आफुहरुलाई समेत मासिक सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्दै १ नम्बर प्रदेशका स्थानीय तहका सदस्यहरु आन्दोलित बनेका छन् । यस क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका सभाहलमा आज भएको भेलाले पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाका सदस्यहरुले संयुक्त संघर्ष समिति खडा गरेका छन् ।
भेलाले पथरीशनिश्चरे नगरपालिका सदस्य तथा प्रदेश संघर्ष समिति सदस्य दुर्गाप्रसाद सिटौलालाई संयोजक तोकेर वडा सदस्यहरुको हकहित सम्बन्धी ८ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
प्रदेश संघर्ष समितिले अघि सारेका संघर्षका कार्यक्रमहरुका आधारमा यहाँको समितिले कार्यक्रम अघि बढाउने संयोजक सिटौलाले जनाए । भेलामा, प्रदेश संघर्ष समितिका संयोजक एवम् ग्रामथान गाउँपालिका सदस्य दीपेन्द्र विष्टले प्रमुख, उपप्रमुख, वडाध्यक्षलाई झैं सम्पूर्ण अधिकार, तलव, भत्ता, सेवा सुविधा मासिक रुपमा उपलब्ध गराउन प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको जानकारी गराए ।
उनले, सदस्यहरु नाम मात्रको जनप्रतिनिधि भएको तथा केवल वैठकको कोरम पुरा गर्न मात्र प्रयोग गरिएकाले शक्ति पृथकिरणको सिद्धान्त एवम् संघीयताको मर्मविपरीत भएको तर्क राखे ।
प्रदेश संघर्ष समिति सदस्य जोगनारायण थानदारले नगरपालिकाका विभिन्न उपसमितिहरुमा समेत सदस्यहरु संयोजक हुन पाउने अधिकारलाई माथिल्लो पदका पदाधिकारीहरुले कुण्ठित गरिएको टिप्पणी गरे । आफुले त्यही कुरा उठाएर बुढीगंगा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक बनेको उनले उल्लेख गरे ।