भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने भिन्दै ठाउँको व्यवस्था

१९ माघ, भरतपुर । भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ भिन्दै बनाएको छ ।

पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए।

उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ। कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आइतबार अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन्।

Advertisement

अस्पतालमा पाँच शैयाको विशेष (आइसोलेसन)कक्ष स्थापना गरिसकिएको छ। अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ। अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तक्रियासमेत गर्ने जनाएको छ।

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए।

हाल दैनिक एक हजार २०० हाराहारीमा बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन्। यसमध्ये झण्डै ७० जना रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top