सिन्धुली आश्रमबाट बम्जन फरार, अन्य ४ जना गुरू प्रहरी नियन्त्रणमा

२४ माघ, सिन्धुली । तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बमजन सिन्धुली आश्रमबाट भागेको प्रहरीले बताएको छ ।

Advertisement

हत्या/हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार अनुमति लिएको थियो ।

पक्राउ अनुमति लिएर प्रहरी शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको थियो ।  बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ नभेटिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

Advertisement

बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजिरहेको छ । बिहीबार सर्लाही जिल्ला अदालतको अनुमति लिएर शुक्रबार बिहान बमजन आश्रम पुग्दा उनको मूलघरमा ताला लागेको प्रहरीले बताएको छ।

आश्रममा रहेका ४ जना ’गुरू’हरूलाई नियन्त्रणमा लिएको पनि प्रहरीले बतायो। बमजन एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

Advertisement

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।

पक्राउपछि प्रहरीले बमजनमाथि थप अनुसन्धान गर्नेछ। त्यसपछि मात्र कुन(कुन आरोपमा उनीविरूद्ध अदालतमा मुद्दा लैजाने भन्ने तय हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top