१ बैशाख, काठमाडौँ ।
संघीय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र देश लकडाउनमा रहेको अवस्थमा जनप्रतिनिधिहरुको भूमिकाको विषयमा अध्यक्ष तिमिल्सिनाले सांसदहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले लकडाउनको अवस्थामा जनस्तरमा पर्ने समस्याहरुको सूचना लिएर समाधानका लागि लागिपर्न सांसदहरुलाई आग्रह गरे । उनले सामाजिक दुरी कायम गर्दै आफ्नो भूमिकालाई सक्रिय बनाई सेवामा लाग्न समेत आग्रह गरे ।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदिय दलका नेता दिनानाथ शर्माले लकडाउनको अवस्थामा जनतामा परेको समस्याको समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई अझबढी तिब्रता दिनुपर्ने बताए । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता राधेश्याम अधिकारीले कोरोना भाइरसको संक्रमणको महामारीको आवस्थामा सरकारको कुन निकायले दिने आदेशलाई पालना गर्ने भन्ने दुविधा जनमानसमा रहेको बताए । उनले सरकारले दिएको आदेश पालना गर्नुपर्ने या नपर्ने हो त्यसमा सरकार आफै स्पस्ट हुन नसकेको दावी समेत गरे। अस्पस्ट आदेशका कारण कोभिड–१९ को संक्रमणको जोखिमसँग जुध्न कठिन भइराखेको उनले बताए। नेता अधिकारीले सीमामा रहेका नेपालीलाई राष्ट्रियताका हिसाबले मानवीयताका हिसाबले पनि नेपालमा ल्याउनुपर्ने बताए।
दिगो विकास तथा सुशासन समिति सभापति समेत रहेकी सांसद तारादेवी भट्टले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम कोरोना भाइरसको रोकथामका लागि प्रयोग गर्नुपर्ने बताइन् । उनले कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारमा खटिने स्वास्थ्य कर्मी र नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने बताइन् ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले चीन सरकारले स्वास्थ्य सामग्री सहितको स्वास्थ्य सेवा सहयोग गर्छु भन्दा समेत सरकारले सहयोग नलिनुको सम्बन्धमा स्पस्ट पार्नुपर्ने बताए । उनले राहत वितरणको सिफारिस गर्ने जिम्मेवारी वडा सदस्यलाई दिनुपर्ने र अनुगमन वडाअध्यक्षले गर्नुपर्नेमा जोड दिए।
सांसद प्रमिला कुमारी चीनबाट आएका नेपाली विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखे जस्तै भारतबाट आएका नेपाली नागरिकलाई समेत क्वारेन्टाइनमा राख्न नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले उचित तरिकाले क्वारेन्टाइनमा राख्न नसक्दा जोखिम सिर्जना भएको र भयाभहको अवस्था आएको बताइन् ।
भिडियो कन्फ्रेन्समा सांसदहरुले स्थानीय सरकारले गरिरहेका प्रयास, कोरोना संक्रमण फैलनबाट रोक्न र उपचारका लागि सरकारले चालेका कदमहरु, लकडाउनमा नागरिकलाई परेका समस्या र जनप्रतिनिधिहरुको भूमिकाका विषयमा छलफल गरेका हुन् ।


