सप्तरीमा द्रुत परीक्षण शुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

३० चैत ७६, सोमबार

१ वैशाख, सप्तरी ।
सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ।

क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

Advertisement

आज आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ।

हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उनले जानकारी दिए।

Advertisement

सरकारले ‘र्‍यापिड टेष्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण शुरु भएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउँन आएका व्यक्तिमा ‘ र्‍यापिड टेस्ट’ विधिको प्रयोग शुरु गरिएको छ।

अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरुप स्वास्थ्य चौकीलाई १०० थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ। किट उपलब्ध हुनासाथ परीक्षण शुरु भएको जनाउँदै प्रमुख मेसु डा. दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताए।

उनका अनुसार क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४औँ दिन परीक्षण गरिनेछ। रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पिसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top