विश्वका ७३ राष्ट्रमा उच्च शिक्षाको परीक्षा स्थगित, २२ देशमा कायम, ११ देशमा रद्ध

२६ बैशाख, काठमाडौं । कोरोना फैलिएका नेपालसहित विश्वका ७३ राष्ट्रले परीक्षा स्थगित गरेका छन् । सरकारले परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी गरिरहेको अवस्थामा स्थगित परीक्षा सञ्चालन गर्न गठित समितिले सो तथ्यांक सार्वजनिक गरेको हो ।

Advertisement

तथ्यांकअनुसार १ सय ४४ वटा देशका सरकारले परीक्षासम्बन्धी लिएको निर्णय वा रणनीतिमध्ये २२ वटा देशले परीक्षालाई कायम राखिराखेको, ११ वटा देशले परीक्षा रद्ध गरेको, ७३ वटा देशले परीक्षा स्थगित वा पुनः तालिका गरेको, ११ वटा देशले हाइस्टेक अनलाइन परीक्षा सञ्चालन गरेको पाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले तयार गरेको प्रतिवेदनमा २३ देशले सिकाइको मूल्यांकन र वैधताका लागि वैकल्पिक दृष्टिकोणको प्रवेश गराउँदै गरेको र ४ वटा देशले परीक्षाको संख्यालाई घटाउँदै गरेको उल्लेख गरेको छ ।

Advertisement

समितिले युनेस्कोले तयार गरेको प्रतिवेदनलाई आधार मान्दै सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै देशहरूले परीक्षा स्थगित वा पुनः तालिका गर्ने रणनीति अवलम्बन गरेका छन् ।

नेपाल, भारत, पाकिस्थान, श्रीलंका, बंगलादेशलगायत एसिया र प्रशान्त क्षेत्रका मात्रै २० वटा देशले परीक्षा स्थगित गरी पुनः तालिका सार्वजनिक गर्ने तयारी गरेका छन् ।

Advertisement

नेपालको सबै विश्वविद्यालय र बोर्डअन्तर्गत सञ्चालित एसईई, कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । नेपालले लकडाउन खुकुलो भएको करिब तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । नेपालले परीक्षा लिने तयारी गरेपछि विभिन्न निकायबाट विरोध पनि हुँदै आएको छ ।

व्यवस्थापिका संसद्को शिक्षा उपसमितिले तत्काल एसईई परीक्षा लिन नहुने जनाइसकेको छ भने प्याब्सनले एसईई परीक्षा नलिई आन्तरिक मूल्यांकन प्रणालीअनुसार लब्धाङ्कपत्र दिन आग्रह गरेको छ ।

बोर्डले तयार गरेको प्रतिवेदनमा कक्षा ११ र १२ को परीक्षाको विषय भने तत्काल उल्लेख गरेको छैन । समितिका संयोजक एवं बोर्डका अध्यक्ष प्राडा पौडेलले चैत ६ गतेदेखि हुनुपर्ने एसईई परीक्षा सकिएपछि कक्षा ११ र १२ को विषयमा नयाँ तालिका सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिए । बोर्डले वैशाख ८ देखि १२ र २१ देखि ११ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई दिएको प्रतिवेदनमा भारतका विभिन्न बोर्डले सबै परीक्षा स्थगित गरेको उल्लेख छ । छिमेकी मुलुक भारतले कक्षा १ देखि ८ सम्म स्वतः कक्षा वृद्धि गर्ने, कक्षा ९ र ११ को परीक्षा विद्यालयले र कक्षा १० र १२ को परीक्षा बोर्डबाट गर्ने भएको छ ।

केही बोर्डले माथिल्लो तहमा भर्ना हुन आवश्यक पर्ने मुख्य–मुख्य विषयको परीक्षा लिने र अरू विषयको परीक्षा विद्यालयबाटै लिइने, भारतका केन्द्रीय बोर्ड सीबीएससी र एनओआईएस बोर्डअन्तर्गत सञ्चालित सबै तहको परीक्षा स्थगित गरेको छ ।

आईबी बोर्डअन्तर्गत विद्यार्थीले आफ्नो कक्षाकोठामा यसअघि गरेका परफरमेन्सका आधारमा प्राप्ताङ्क दिने व्यवस्था गरेको, कक्षा ११ को परीक्षा विद्यालयले लिने र कक्षा १२ को जनवरी–फेब्रुवरी महिनामा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिवेदनमा क्याम्ब्रिज बोर्डले विद्यालयलाई परीक्षाको आइडलाइन उपलब्ध गराउने र सोहीअनुसार गर्न निर्देशन दिएको छ । सो बोर्डले मे र जुन महिनामा सञ्चालन गर्न सबै परीक्षा रद्ध गरेको छ ।

विश्वका विभिन्न देशले गरेको प्रयोगको आधारमा नेपालमा परीक्षा सञ्चालन गर्ने गरी प्रतिवेदन तयार गरिएको संयोजक प्राडा पौडेलको भनाइ छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top