लकडाउनका कारण औषधि अभाव

२५ बैशाख ७७, शुक्रबार

२६ वैशाख, धादिङ ।
फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरुलाई समस्या परेको हो । मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका छन् भने रकम अभावमा समेत उनीहरुले डेढ महिनाको लकडाउनमा औषधि खरिद गर्न नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य गुणराज खतिवडाले जानकारी दिए ।

केहीले आफूसँग पैसा नभएर औषधि नपाएको गुनासो गरिरहेका छन् । जिल्लामा मनोसामाजिक औषधि खानुपर्ने अवस्थाका ४०० व्यक्ति रहेका छन् । उनीहरु बन्दाबन्दीले गर्दा समस्या भोगिरहेको उनको भनाइ छ । हेमोफेलियासम्बन्धी अपाङ्गता भएका बिरामी सात जना छन् । उनीहरुले नियमित औषधि खानुपर्छ ।

Advertisement

यसको औषधि काठमाडौँमा मात्र पाइने भएकाले औषधि ल्याउन समस्या भएको छ । वीर अस्पतालमा मात्र औषधि पाइन्छ, तर त्यहाँ पनि पाउन पहिल्यै नाम दर्ता गराउनुपर्ने हुन्छ । स्पाइनल कर्ड इन्जुरी भएका बिरामीको सङ्ख्या पनि जिल्लामा ३० भन्दा बढी छ । उनीहरुलाई सहायक सामग्री चाहिन्छ ।

दिसापिसाब गर्ने सामग्रीसमेत आवश्यक पर्ने र लामो समयसम्म लकडाउन भएका कारण अपाङ्गता भएका व्यक्ति समस्यमा परेका हुन् । बौद्धिक अपाङ्गता भएकाले समेत औषधि खानुपर्ने र उनीहरुले खाने औषधि निश्चित ठाउँमा मात्र पाउने भएकाले अपाङ्गता भएकाहरुले विपद्का बेलासमेत समस्या भोग्न बाध्य भएको समस्या भोगिरहेका शिव श्रेष्ठले जानकारी दिए ।

Advertisement

बहिरा विद्यालयलाई सहयोग

फरक क्षमता भएका बालबालिका मात्र अध्ययन गर्ने स्वावलम्बी बहिरा आवासीय विद्यालय बन्दाबन्दीको बेलामा खाद्यान्न अभाव भएपछि दाताहरुले सहयोेग हस्तान्तरण गरेका छन् । बन्दाबन्दीपछि विद्यालय बन्द भए पनि केही विद्यार्थी घर जान नसकेकाले उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न अभाव भएको थियो ।

स्वावलम्बी बहिरा आवासीय विद्यालय मुरलीभञ्याङलाई वडा कार्यालयबाट पाँच बोरा चामल, दाल, नुन, तेल, दिनेश तामाङबाट पाँच बोरा चामल, नुन, तेल चिनी, चिया, प्रारम्भ एग्रो कम्पनीबाट फर्सी ३० किलोग्राम, आलु, गुन्द्रुक अदुवा र समाजसेवी ज्यामरुङ निवासी केशव धमलाबाट पाँच बोरा चामल, दाल, तरकारी नुन, तेल प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले बताए ।

स्वावलम्बी बहिरा आवासीय विद्यालयमा ६५ फरक क्षमता भएका विद्यार्थी रहेकामा १० शिक्षक विद्यार्थी बन्दाबन्दीको समयमा समेत विद्यालयको आवासमा बस्दै आएका छन् ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top