गवारो र नेक ब्लास्टले झापाको धानबाली सखाप

१४ जेठ ७७, बिहीबार

१५ जेष्ठ, झापा ।
“कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो”, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ–फस्याङ गर्दै आएका विमला धमला र सुजाता भट्टराईले भनिन्, “मुखमा आइसकेको बाली थन्क्याउन पाइएन, पाक्न नपाउँदै धानका बाला सुके, अब के खाएर बाँच्ने ।”

उनीहरुको जस्तै पीडा इमानसिंह तामाङ र सीता कार्कीको पनि छ । उनीहरुले लगाएको खेतमा धान पहेलपुर भएर पाकेको छ तर बालामा चामल हैन भुस मात्र छ । तामाङले १५ कठ्ठा र कार्कीले १८ कठ्ठामा लगाएको चैते धान पूरै रोगले कामै नलाग्ने भएको छ । गत वर्ष १८ कठ्ठामा सय मन धान फलाएकी कार्कीले भनिन्, “धान पाक्यो अब काट्नु पर्ला भनेर सोच्दै थिएँ, एकाएक बाला पो सुक्न थाल्यो ।”

नगरपालिकाका अध्यक्ष रोहितकुमार साहले दैनिकजसो किसान गवारो र नेक ब्लास्ट रोगले सखाप पारेको धानका बाला र निवेदन लिएर नगरपालिकाको कृषि शाखामा आइरहेको बताए । उनका अनुसार नगरपालिकाको वडा नं १, २ र ४ का किसानको धान रोगले सखाप पारेको छ ।

Advertisement

एक हजार हेक्टर क्षेत्रमा लगाइएको धान बालीमध्ये ४५० हेक्टर जमिनको किसानको धान सबै सुकेर गएको पालिका प्रमुख साहले जानकारी दिँदै भने, “थप क्षति हुन नदिन कृषि विज्ञलाई ल्याएर रोग नियन्त्रणको उपाय खोजिरहेका छौँ ।” क्षति पुगेका किसानको तथ्याङ्क कर्मचारी खटाएर लिइरहेको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह, कृषि क्याम्पस गौरादहका प्रमुख कृष्णहरि देवकोटा, बाली संरक्षण प्रयोगशाला विराटनगरको टोलीसहितले बुधबार गौरादहका रोग प्रकोप क्षेत्रका वडाका निरीक्षण गरेको छ ।

Advertisement

टोलीले निरीक्षणपछि रोग निदानका लागि वडा नं १ स्थित कृष्णप्रसाद साहको तीन कठ्ठा धान बालीमा किटनाशक औषधि छिटेर नमूना परीक्षणसमेत गरेको ज्ञान केन्द्रका प्रमुख सिंहले बताए । झापामा १९ हजार आठ हेक्टरमा चैत धानबालीको रूपमा हर्दिनाथ–१ जातको धान लगाइएको छ ।

धान बालीमा लागेको रोग समयमै उपचार गरे निर्मूल हुने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले बताए। उनका अनुसार नमूनाका लागि ग्रास सिल र साइडोक्स नामक औषधि छिटिएको छ ।

किसानले बीउमै उपचार नगर्दा यो समस्या आएको कृषि क्याम्पस गौरादहका प्राध्यापक कृष्णहरि देवकोटाले बताए । उनले किसानले परिश्रम गर्न जाने पनि प्राविधिक ज्ञानको अभावमा समयमै रोगको निदान गर्न नसकेको बताए । उनी भन्छन्, “बाली लगाएपछि कुन समयमा के गर्ने भन्ने प्राविधिक ज्ञान नै किसानलाई छैन ।

बीउमै उपचार गरेको भए या समस्या आउन शुरु हुनेबित्तिकै किटनाशक औषधि बालीमा छिटेको भए पनि यस्तो सखाप हुने स्थिति आउने थिएन ।” प्रदेश नं १ को झापामा मात्र धानखेतीमा यो रोगको प्रकोप देखिएको हुँदा यसको निदान गरेर फैलिन नदिन प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरिएको बाली संरक्षण प्रयोगशाला विराटनगरकी अधिकृत सरस्वती श्रेष्ठले बताइन् ।

मौसमले समेत यो रोग फैलिन साथ दिइरहेको ज्ञान केन्द्रका प्रमुखको भनाइ छ । उनी भन्छिन्, “यतिबेला तापक्रम ३५ डिग्रीभन्दा पनि माथि हुनुपर्ने हो तर ३० पनि नघटेको अवस्था छ । यस्तो बेला यो रोगले बालीमा सजिलै आक्रमण गर्छ ।”

मकैमा पनि उस्तै

झापामा धानसँगै मकैमा पनि फौजी किराको प्रकोप देखिएको छ । झापाको सयौँ हेक्टरमा लगाइएको मकैबालीमा सुत्लो चेप्ने बेलामा फौजी किराले आक्रमण गरेको किसानले बताएका छन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top