काठमाडौँ, २३ चैत ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् ।
मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् ।
निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि आफू रारामा आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वैशाख १ गते प्रधानमन्त्री ओलीले ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष, २०७५’ को समुद्घाटन गर्नु हुनेछ ।
समुद्घाटनसँगै प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शे–फोक्सुण्डो, छायानाथ, हिल्सा, पाताल झरनाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।यसैगरी पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरिक हुनाका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि निम्तो दिएका छन् ।
मुख्यमन्त्री शाहीले आज बिहान निजी निवास खुमलटार पुगेर पूर्व–प्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिएका थिए ।
प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धन गर्न र पर्यटनलाई समृद्धिको बलियो आधार बनाउन ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को आयोजना गर्ने निर्णय गरेको छ ।
प्राकृतिक सुन्दरता, थुप्रै सम्भावनाको भण्डार र मनोरम दृश्यले भरिपूर्ण कर्णाली प्रदेशलाई यो आयोजनाले आन्तरिक तथा बाह्य पर्यटकका साथै क्षेत्रगत लगानीकर्तालाई आकर्षण गर्ने अपेक्षा राखिएको छ ।
रासस