२६ असार, पोखरा ।
गएराती परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । पहिरोमा परी नौ जना घाइते भएका छन् ।
राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको उनले बताए ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।
लमजुङमा पहिरो गएर घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । लमजुङमा बिहीबार राति परेको अबिरल बर्षाका कारण पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५÷२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८÷९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार बर्षाका कारण बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२ः५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव २ः४५ बजेतिर संगै फेला परेको र अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरुको उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए ।
स्थानीयका अनुसार भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको पछाडि पट्टी रहेको उक्त घरमा कमजोर खालको ब्लकले बारेको र जस्ताले छाएको उक्त घर भिरालो ठाउँमा भएका कारण एक्कासी पहिरो आएर घरको भित्तालाई क्षति पु¥याएको थियो । घरको संरचना कमजोर र भिरालो जग्गामा घर भएकाले पहिरोले क्षति पु¥याउन हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दीपकको आमा र छोरी आफन्तकोमा गएका थिए । दीपकसंगै काम गर्ने ३ जना घरमै रहेपनि पहिरो आउने वित्तिकै थाहा पाएपछि उनीहरुले भागेर बाच्न सफल भएका छन् । पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर १० पांगे्रक्युका २३ बर्षीय अनिल गुरुङ, ३३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
बिहीबार रातिको बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । खोलामा पानीको बहाव बढ्दा खोलाको पानी खेतमा आएका छन् । खोला नजिकैको घर जोखिममा परेका छन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।