योगेन्द्र योगी
२६ असार, दोहा ।
कतार सरकारले आफ्नो श्रम बजारमा कतारी नागरिकको सङ्ख्या बढाउने गरी नयाँ कानुन मन्त्रीपरिषदबाट पारित गरेको दोहा न्युजले जनाएको छ ।
दोहा न्युजले जनाए अनुसार सरकारी स्वामित्वका निजी क्षेत्रले अब आफ्नो कार्यक्षेत्रमा ६० प्रतिशत श्रमिक कतारी नागरिक राख्नुपर्ने गरी आएको नयाँ कानुन पारित गरेको हो ।
सरकारी स्वामित्वका निजी क्षेत्रमा कतारी नागरिकको सङ्ख्या बढाउनका लागि कम्पनीको ‘ह्युमन रिसोर्स डिमार्टमेण्ट’मा कम्तिमा ८० प्रतिशत कतारी हुनुपर्ने व्यवस्था गरेको जनाएको छ ।
कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले तोकेका विभिन्न काममा विदेशी श्रमिक भर्ना गर्न निषेध गरिएको छ । यी काममा कतारी नागरिक नै भर्ना गर्नुपर्ने भन्दै कतार सरकारले स्थानीय नागरिकलाई नै प्राथमिकता दिने जनाएको छ ।
सरकारी स्वामित्वका निजी क्षेत्रमा स्थानीय श्रमिकको सङ्ख्या ६० प्रतिशत हुनुपर्ने र विभिन्न काममा कतारी नागरिक नै भर्ती गर्नु पर्ने, विदेशी श्रमिक भर्ना गर्न नपाउने नियमले नेपाली लगायत अन्य देशबाट कतारमा श्रम गरिरहेकालाई प्रभाव पर्ने देखिन्छ ।
कतारले कहिलेदेखि यो कानुन कहिले कार्यान्वयन गर्ने भनेर मिति भने तोकेको छैन । कतारमा विभिन्न क्षेत्रमा गरि करिव ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।