नारायणीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नारायणीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

६ साउन, नवलपरासी । नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।

नेपाल-भारत सीमामा गण्डक ब्यारेज बनाएर नारायणी नदीलाई थुनिएको छ । त्यहाँबाट नारायणीको पानी भारत, उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिँचाइ गर्न लगिन्छ । नारायणी नदीलाई नै भारतमा गण्डक नदी भनिन्छ ।

नारायणी नदीको सतह खतरामाथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मिकी नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए ।

गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक हो । पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाखको हाराहारीमा रहेको छ । ३ लाख नाघेपछि खतरा मानिन्छ । गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ।

यसैबीच नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

कमाण्ड क्षेत्रमा सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका ३० बढी गाउँ पर्छन्। सो क्षेत्रमा विपद् आई लागेमा तत्काल उद्धारमा खटिनका लागि सुरक्षाकर्मीलाई ‘हाई-अलर्ट’मा राखिएको पाठकले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.