काबुल, ९ वैशाख ः अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते भएका छन् ।
स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको हो ।
बम पड्किने बेलामा मतादाता परिचयपत्र लिनका लागि कैयौ मानिस दर्ता कार्यालय अगाडि रहेका थिए । स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको हो ।
घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो ।अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो ।
रासस