काठमाडौँ, १० वैशाख ः दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छिन्।
राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उनले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराएकी हुन् ।
मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय गर्इ पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले राससलाई जानकारी दिए ।
कोषका पदाधिकारीसँग कुरा गर्दै उनले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिइन्।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराए । भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गरेकी थिइन् । त्यसबेला उनले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी थिइन् ।
रासस