एम्बुलेन्स भाडा २ हजार तिर्न नसक्दा ३२ वर्षीया महिलाको मृत्यु

५ भदौ ७७, शुक्रबार

बर्दिया:  अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च बेहोरेर नेपालगन्ज लैजान नसक्दा बुधबार ज्यान गएको हो ।

Advertisement

गुलरियाबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ । निषेधाज्ञाले अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् । यहाँबाट नेपालगन्ज बिरामी पुर्‍याएबापत एम्बुलेन्सले अक्सिजनसहित २ हजार २ सय र अक्सिजनबिना २ हजार रुपैयाँ लिने गर्छ । अस्पताल परिसरकै एम्बुलेन्स चालकलाई आग्रह गरे पनि रकम नभएको बुझेपछि पुर्‍याउन नमानेको परिवारका सदस्यले बताए । त्यसपछि उनी अटो रिक्सामा घर फर्किएकी थिइन् । एक साताअघि पालको ६ महिनाको गर्भ खेर गएको थियो । त्यसपछि रगत बग्न थामिएको थिएन ।

तीन दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको श्रीमान् मैंकुले बताए । उनले मजदुरी गरेर गुजारा गर्दै आएका थिए । लकडाउन भएपछि काम पाएका थिएनन् । आफ्नै घर नभएकाले भाडामा बस्दै आएका छन् । ‘उनीहरू हाम्रै टोलमा भाडामा बस्छन्,’ स्थानीय अजितकुमार श्रीवास्तवले भने, ‘महिलाको अवस्था देखेपछि उपचारका लागि गाउँलेले ५ हजार रुपैयाँ संकलन गरेका थियौं ।’ तर, स्थानीयले सहयोग जुटाएकै दिन पालको मृत्यु भएको उनले बताए ।

Advertisement

परिवारले अस्पतालमा रगत परीक्षण गरेको दुई सय र औषधि खरिदबापतको १ हजार ९ सय ७० रुपैयाँ पनि तिर्न सकेका थिएनन् । रेफर गर्ने बेलामा चिकित्सकले उक्त खर्च निःशुल्क लेखिदिएको मैंकुले बताए । ‘एम्बुलेन्स चालकले सित्तैमा लानुपर्ने भएपछि कोरोना लागेकालाई बोक्दिनँ भने,’ बिहीबार मैंकुले कान्तिपुरसित भने, ‘त्यसपछि घर ल्याएँ ।’, याे खबर कान्तिपुर दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top