दमक, १४ वैशाख ः पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् ।
शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानाकर्षण गराएको हो ।
टोलीले दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै शरणार्थी समस्याको स्थायी समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको बेलडाँगी शिविरका क्याम्प सचिव टीकाराम रसाइलीले बताए । उनका अनुसार टोलीले स्वदेश फिर्ती, इच्छुकलाई तेस्रो मुलुक पुनर्वास, स्थानीयकरण, अन्तर्राष्ट्रियकरण र दर्तामा छुटेकालाई दर्ता प्रक्रियाको माग गरिएको बताइएको छ ।
तीन दिनअघि काठमाडौँ पुगेर त्यस टोलीले गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग नेपाल प्रमुख मिनाको काकुमा, गृहसचिव प्रेमकुमार राई, शरणार्थी समन्वय एकाइका उपसचिव मुनका न्यौपानेसहितलाई भेटेर त्यस्तो ध्यानाकर्षण गरिएको हो । टोलीमा मोरङस्थित पथरी–शनिश्चरे शिविर सचिव चम्पासिंह राई, बेलडाँगी शिविर सचिव रसाइली, पूर्वसचिव युवराज साङ्पाङ राईसहितका अगुवा सहभागी थिए ।
रासस