९ भदौ, एजेन्सी । विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जमैकाको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
आफ्नो ३४ औँ जन्मदिनको अवसरमा भव्य पार्टीको आयोजनापछि ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा सङ्क्रमण देखिएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा भिडियो म्यासेज दिँदै बोल्टले गएको शनिबार आफूमा सङ्क्रमण पुष्टि भएको र अहिले जमैकामा रहेको घरमा आइसोलेशनमा बसेको बताएका छन् ।
साथै उनले आफ्नो सम्पर्कमा आएकालाई क्वरेण्टीनमा बस्न र धेरै नआत्तिन आग्रह गरेका छन् ।