नितेश यादव
१२ भदौ, जनकपुरधाम ।
प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले छोटो अवधिमै सचिव सरुवा गर्ने प्रवृत्तिले प्रदेश सरकारको कामकाज नै प्रभावित भएको भन्दै पछिल्लो पटक गरिएको सरुवा तत्काल फिर्ता लिन संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्रीलाई आग्रह गरेका छन् ।
मन्त्री साहले शुक्रबार संघीय मन्त्रालयलाई पत्र लेख्दै ४ महिना अघि मात्र आएका सचिवलाई सरुवा गरिएकोमा आपत्ति जनाउँदै सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधिमै सचिव फेर्ने प्रवृत्ति अन्त्यगर्न आग्रह गरेका हुन् । जुनसुकै बेला सचिव फेर्न प्रवृत्तिले प्रदेश सरकारको कार्यक्रम नै प्रभावित हुँदै आएको, पदस्थापना हुने सचिवले पनि सरुवा हुनु पर्ने भन्दै काममा गति नदिने गरेको जस्ता कारणहरुले सचिवहरुलाई निश्चित अवधिको लागि पठाउन समेत मन्त्री साहले माग गरेका छन् ।
गत दुई वर्षमा ६ जना सचिवको सरुवा हुनु र अहिलेको विषम परिस्थितिमा किसानहरुको ऋण व्याज मिनाहा, धानबालीमा लागेको रोग निवारणको गर्नुपर्ने प्रयास मलखाद व्यवस्थापन गर्नु पर्ने भएपनि सचिवको अनपेक्षित सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने भएकोले समेत निर्णय फिर्ता लिन मन्त्री साहले पत्र मार्फत माग गरेका छन् ।






