विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत्

१३ भदौ ७७, आइतबार

१४ भदाै, काठमाडौं ।

प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार यस वर्ष सोह्र श्राद्ध अर्थात् पितृ पक्ष यही भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ ।

यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसले महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवंगत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हाल काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा निषेधाज्ञा त कतै बन्दाबन्दी छ । सबैतिर ब्राह्मण अर्थात् पुरोहित जजमान (श्राद्धकर्ता) का घरमा जान सक्ने वातावरण पनि छैन । विशेषगरी काठमाडौँ उपत्यका लगायत ठूला शहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रुपमा सूचना समेत जारी गरेका छन् ।

विद्युतीय श्राद्ध शास्त्र सम्मत हुँदैन: प्राडा गौतम

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम विद्युतीय माध्यमबाट श्राद्ध गराउन गरिएको आह्वान शास्त्रसम्मत नभएको बताउँछन् । शास्त्रीय मान्यता अनुसार मरणपछि गरिने काजक्रिया र सोह्रश्राद्ध रोक्न मिल्दैन ।

“श्राद्धकर्ता आफैँ जान्ने भए भाञ्जा, ज्वाइँ लगायतलाई राखेर श्राद्ध गर्न सक्छन्, नजान्ने भए दूरी कायम गरी ब्राह्मणलाई बोलाएर श्राद्ध गर्नुपर्छ, कर्ताले श्राद्ध विधि नजानेको भए विद्युतीय माध्यमबाट श्राद्ध गर्न कुश कसले बनाइदिन्छ ? श्राद्धमा कुशबाट बनाइने पवित्र, मोटक, ऋषिका रुपमा स्थापना गरिने कुशको ब्राह्मणको आवश्यकता पर्छ, यो नभई विधिपूर्वक श्राद्ध हुन सक्दैन, यसरी श्राद्ध गर्न नसकिने भए शास्त्रले निर्धारण गरेको विकल्पमा जानुपर्छ”–उनले भने ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा गौतम बताउँछन् ।

यस वर्ष आगामी असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

शास्त्रीय विकल्प हुँदाहुँदै प्रशासकको उर्दी गलत

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई पनि विद्युतीय माध्यमबाट गरिने सोह्रश्राद्ध शास्त्रसम्मत् हुन नसक्नेमा जोड दिन्छन् । सोह्र श्राद्ध गर्न चारदेखि पाँच घण्टा लाग्छ । विद्युत् सूर्योदय र सूर्यास्तकाबीच जस्तो बत्ती २४ सै घण्टा नहुने भएकाले भर्चुअल माध्यमबाट गराइने सोह्र श्राद्धको विधि पूरा नहुने उनको मत छ ।

“धार्मिक कृत्य देव, द्विज अर्थात् ब्राह्मणको नजिकमा गर्नुपर्छ, पिण्ड लडाउनका लागिमात्र सोह्रश्राद्ध गरिने होइन, श्राद्धको बीचमा ब्राह्मणको हातबाट श्राद्धकर्तालाई टीका लगाइदिनुपर्ने विधि हुन्छ, विद्युतीय माध्यमबाट श्राद्ध गराउँदा यो विधि पूरा हुन सक्दैन”–उनले भने ।

हाम्रोजस्तो देशमा अहिले पनि इन्टरनेटको पहुँच कति प्रतिशत जनतामा होला यसतर्फ पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने धर्मशास्त्रविद्को भनाई छ । सोह्रश्राद्धकै बीचमा रोकिएमा अष्टमी, द्वादशी वा औँसी, त्यसबीच पनि रोकिएमा दुर्गा पक्ष शुरु भएको पञ्चमीसम्मको व्यवस्था रहेको र मङ्सिर सङ्क्रान्तिसम्मको विकल्प शास्त्रले दिएकाले त्यसको अनुसरण गर्न धर्मशास्त्रविद् भट्टराईले ध्यानाकर्षण गराएका छन् ।आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प पनि उनले बताए ।

धर्मग्रन्थ ‘धर्मसिन्धु’ मा उल्लेख भए अुनसार मङ्सिर सङ्क्रान्तिसम्म जुराएर सोह्रश्राद्ध गर्न सकिन्छ । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विकल्प अहिलेको जस्तै महामारी, प्राकृतिक विपत्ति लगायत समयका लागि दिइएको हो ।

भर्चुअल विधिबाट श्राद्ध गराउँदा कुश बनाइदिने, हस्तक्रिया गराउने र सामुन्नेमा बसिदिने अर्को ब्राह्मण भएमा भने गर्न सकिने उनले बताए । शास्त्रीय रुपमा दिइएका अनेक विकल्प हुँदाहुँदै यस विषयमा जानकारी नभएका स्थानीय प्रशासकले हस्ताक्षर गरी विद्युतीय माध्यमबाट श्राद्ध गर भनी उर्दी जारी गर्नु उपयुक्त नभएकामा धर्मशास्त्रविद्को एक मत छ ।

पिण्ड, पानी लोप हुन नदिन विद्युतीय श्राद्ध गर्न सकिन्छः प्राडा भट्टराई

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं पूर्व नायब बडागुरुज्यू प्राडा माधव भट्टराई सोह्रश्राद्ध प्रत्येक वर्ष गरिने नित्यकर्मभित्र पर्ने भएकाले पुरोहितहरुबीचको सम्पर्कबाट कर्ताको घर नजिककालाई बोलाउने व्यवस्था गरेर काम चलाउन सकिने बताउँछन् । श्राद्धमा पुरोहित भने अनिवार्य हुनुपर्ने उनको मत छ ।

पुरोहतिहरुको सम्पर्कबाट नजिककालाई बोलाएर दूरी कायम गरी सहज रुपमै श्राद्धको विधि पूरा गर्न सकिने अध्यक्ष भट्टराईले बताए । मुख्य शहर बजारमा कोरोनाको बढी सङ्क्रमण रहेकाले थोरै आफन्त र ब्राह्मण बोलाएर सोह्रश्राद्ध गर्न सकिने तरीका उनले सुझाए । “पिण्ड, पानी लोप हुन दिनु शास्त्रीय मतका आधारमा उपयुक्त हुँदैन, गर्दै नगर्नुभन्दा सकेसम्म विधि पुर्याएर भर्चुअल विधिबाट पनि गर्न सकिन्छ, धर्मसिन्धु, निर्णयसिन्धु लगायत ग्रन्थमा परिस्थितिवश श्राद्ध लगायत क्रिया गर्न नसकिए एक अञ्जुली जल लिई सूर्यतिर फर्किएर पितृलाई सम्झिएर मैले यसवर्ष यसकारण श्राद्ध गर्न सकिन, नरिसाउनुस्, भन्दा चित्त बुझाउने वाक्य रहेको छ”–उनले भने ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यस पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएकामा धर्मशास्त्रविद्को ऐक्यबद्धता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुले बताए ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण सम्भावना कम छ । आफ्नो घरभन्दा बाहिर बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन छ ।रासस

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top