४ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ । उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरिक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो ।
अमेरिकी संघिय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनको क्रममा उक्त पत्र क्यानाडाबाट पठाईएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । उनीहरुले यस्तै पत्र अरुपनि हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारेका छन् । अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि बेलाबखत यस्ता पत्रहरु आउने गरेका थिए ।