Nepal Times
Nepal Times
3
Shares

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए ।

उनले यदि फ्रान्सेली नागरिकसँग पनि बन्दुक राख्न पाउने अधिकार भइदिएको भए पेरिसमा भएको आतंककारी हमलाबाट त्यतिधेरै क्षति नहुने आशयको भनाई राखेका थिए।

राष्ट्रपति ट्रम्पको यो भनाइप्रति फ्रान्सले विरोध जनाएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले राखेको उक्त धारणा फ्रान्सेली शान्तिप्रेमी जनताको पक्षमा नदेखिएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको हो । राष्ट्रपति ट्रम्पको यो धारणाप्रति उक्त मन्त्रालयले आपत्ति पनि जनाएको समाचारमा जनाइएको छ ।

उनको उक्त दावीको खण्डन गर्दै उक्त मन्त्रालयले पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ । शुक्रवार टेक्ससमा आयोजना गरिएको राइफल एशोसियसनको सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले सो धारणा राखेका थिए ।

राष्ट्रपति ट्रम्पले पेरिसको सांगीतिक कार्यक्रम हलमा कामगर्ने कुनै कर्मचारीसँग त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू भाग्थे या मारिन पनि सक्थे भनेर उनले सो सभामा आफ्नो धारणा राखेका थिए ।

उक्त सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले पेरिसका हमलाकारीहरुले एक एक जनालाई छानेर गोली हानेको र पीडितहरु कसैले पनि आफ्नो अवस्थाको सुरक्षागर्न असमर्थ रहेको बताएका थिए ।

उनले गरेको बन्दुकप्रतिको यो टिप्पणीले यहाँका नागरिकलाई न्याय नगरेको विदेश मन्त्रालयलको भनाई छ । त्यसो त उनले गर्ने गरेका बन्दुकसम्बन्धी टिप्पणीको अमेरिकाभित्रै पनि बिरोध हुने गरेको छ ।

अमेरिकामा पनि समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न मागगर्दै जुलुश निकाल्ने गरिएको छ ।

नागरिकसँग बन्दुक नरहेको मौका छोपेर आतंककारीहरुको एउटा सानो समूहले नै पेरिसका ठूलो संख्याका सर्वसाधारणको हत्या गरेको उनले बताएका थिए ।

उक्त सभामा उनले भने– तपाईहरुले पनि ख्याल गर्नुभयो होला नि निकै थोरैको संख्यामा रहेका आतंकारीहरुको समूहले पेरिसमा १३० जनाको हत्या गरेका छन्, उनीहरुले समय लिएरै र निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भने– म यो कुरामा निश्चित छु कि पेरसका नागरिकसँग पनि बन्दुक भइदिएको भए यति धेरै संख्यामा त्यहाँ नागरिकको ज्यान जाने नै थिएन ।

रासस

 

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.