पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने

२३ बैशाख ७५, सोमबार

दाङ, २४ वैशाख ः विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब दुई किलोमिटर अग्लो डाँडामा रहेको सुनकोटमा रहेको षड्केश्वरी मन्दिरलाई सिँढीले जोडिने भएको छ ।

त्यसका लागि षड्केश्वरी मन्दिरको पुनःनिर्माण र त्यहाँं सहजरुपमा पुग्नका लागि सिँढी निर्माण कार्यको थालनी भएको छ । पृथक पौराणिक महत्वका दुवै मन्दिर सिँढीले जोडिएपछि त्यहाँको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने धारपानी पाण्डवेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

घोराही उपमहानगरपालिका–५ धर्नाको सुनकोटमा षड्केश्वरी भगवतीको मन्दिर पुनःनिर्माण हुन थालेको छ । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको उक्त मन्दिरलाई पुनःनिर्माण गर्न थालेको हो । पाण्डवेश्वर मन्दिर पुग्ने दर्शनार्थीलाई अर्को धार्मिक गन्तव्यका रुपमा त्यहाँ पनि पुग्न सहज हुने गरी मन्दिर पुनःनिर्माण हुन थालेको हो ।

Advertisement

करीब रु १५ लाखको लागतमा मन्दिर निर्माण गर्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए। पाण्डवेश्वर मन्दिरदेखि करीब दुई किलोमिटर दक्षिण अग्लो पहाडमा मन्दिर निर्माण हुन थालेको हो । पौराणिक महत्व बोकेका उक्त स्थानमा १९८३ सालतिर षड्कदेवीको मन्दिर निर्माण भएको जनविश्वास रहेको छ ।

तत्कालीन समय सरिकोटमा दाङ जिल्लाको प्रशासनिक काम हँुदाको अवस्थामा सरिकोट र सुनकोटमा मानव बस्ती रहेका र ती मानिसले पूजापाठ गर्नका लागि मन्दिर स्थापना भएको स्थानीयवासी बताउँछन् । “सरिकोटमा प्रशासनिक अड्डा रहँदा सरिकोट र सुनकोट क्षेत्रमा मानिसको बसोबास थियो” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले भने।

Advertisement

उक्त स्थान पुग्नका लागि पाण्डवेश्वर मन्दिरदेखि चार हजार ९६३ वटा सिँढी बनाइने भएको छ । जसका लागि विभिन्न व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । षड्केश्वरी र पाण्डवेश्वर मन्दिरको धार्मिक एव ऐतिहासिक सम्बन्ध रहेकाले दुवै मन्दिरलाई जोड्ने गरी पैदलमार्गका रुपमा सिँढी निर्माण गरिन थालिएको हो । यसरी सिँढी निर्माण गर्दा धारपानी क्षेत्रसँगै सुनकोट क्षेत्रलाई पनि धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए ।

धर्नाको धारपानी मन्दिरमा विश्वकै अग्लो त्रिशूल राखिएपछि धारपानी पाण्डवेश्वरीको तिर्थाटन गर्ने धर्मावलम्बीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

नेपालका विभिन्न भूभागलगायत विदेशबाट समेत धर्मावलम्बी यहाँ आउने गरेका छन् । मन्दिरमा धर्मशाला, शौचालय, खानेपानीको व्यवस्थालगायत सहज यातायात सेवासँगै बबइ खोलामा पनि पक्की पुल बन्न लागेको छ भने मन्दिरसम्म पुग्नका लागि पक्की सडकसमेत निर्माण भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर आसपासको क्षेत्रमा पर्यटकीय एवं धार्मिक महत्व बढाउन तथा वातावरणीयरुपमा पनि सकारात्मक सन्देश फैलाउनका लागि एक हजार आठ जोडी वरपीपल रोप्ने र हुर्काउने अभियानसमेत शुरु भइसकेको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top