विदेशमा अलपत्र परेकालाई निःशुल्क उद्धार गर्न एनआरएनएको आग्रह

१२ असोज, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

Advertisement

भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एशिया प्रशान्त क्षेत्रका देश तथा खाडीलगायत अन्य द ेशमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले विदेशमै रोकिएका नागरिकलाई बिनाशर्त यथाशीघ्र निःशुल्क उद्धार गर्न आग्रह गरेको हो ।

सम्मेलनले विदेशमा अलपत्र नागरिकलाई सहज स्वदेश फर्काउने वातावरण सिर्जनाका लागि नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध गरेको छ ।

Advertisement

वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको पुनः एकीकरण र रोजगारका लागि सङ्घ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जनाका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारको विविधीकरणमा जोड दिँदै सम्मेलनले उचित पारिश्रमिक, कम जोखिम तथा मानवअधिकार तथा सामाजिक सुरक्षा सुविधा भएका गन्तव्य देशको खोजी गरी ती देशमा वैदेशिक रोजगारको व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गरेको छ ।
यसैगरी देशको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेका नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

Advertisement

सम्मेलनले गैरआवासीय नेपालीको सहकार्यमा श्रमिक सूचना बैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीको सीपसहितको तथ्याङ्क राख्ने व्यवस्थालाई प्रभावकारी बनाउन तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सबै गैरआवासीय नेपालीलाई आह्वान गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ महिला फोरमले हालसम्म गरेका कामको प्रशंसा गर्दै सम्मेलनले महिलाको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सक्रियतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गराउने निर्णय गरेको एशिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले जानकारी दिए ।

पच्चीस देशका २०० प्रतिनिधि सहभागी सो बैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार ः स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’ र पहिलो क्षेत्रीय ज्ञान सम्मेलनको मूल विषय ‘नेपालीबीचमा ज्ञान आदानप्रदान ः कोभिड–१९ महामारीका कारण उद्यमीको अवसर र चुनौती’ थियो । सम्मेलनको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top