Nepal Times
Nepal Times
3
Shares

मोरङका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

मोरङका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

१३ आश्विन, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज बिहान ३ बजे मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो ।

अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

 तर उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.