१६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान सुरु गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी १ कात्तिकबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो । चैत ११ पछि भारतमा नियमित उडान भएको छैन ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।
भारतमा रहेका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा घर फर्काउन सक्ने गरी भारतले ‘एयर बबल स्किम’ जारी गरेको छ ।
सोही अनुसार भारतमा संसारभरबाट उडान भइरहेको छ । यो स्किम नेपालका लागि समेत खुला छ । अर्थात् नेपालले समेत नयाँ दिल्लीस्थित दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई घर फर्काउन सक्ने गरी उडान खोल्न सक्छ ।
तर, भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निर्णय लिइसकेको छैन ।
तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतिक्षामा छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर बबल स्किममा सहभागी हुन सक्ने गरी भारतले गत अगस्ट मै नेपाललाई सन्देश पठाएको हो । यस्तो जानकारी भारतले नियमित उडान गर्दै आएका विश्वका सबै मुलुकलाई दिएको थियो ।
यो स्किमअनुसार भारतमा रहेका नागरिकलाई नेपालले स्वदेश फर्काउन हवाईमार्गको प्रयोग गर्न सक्छ । त्यसका लागि भारतले अनुमति पनि दिन्छ । सोहीअनुसार नेपालले भारतको उडानको तयारी गरेको प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार सरकारले उडानको मितिबारे निर्णय गर्नासाथ प्राधिकरणले एयरलाइन्सलाई उडान संख्या र अनुमति तोक्ने काम तत्काल सक्ने उनको भनाइ छ ।
१ कात्तिकमा उडान खोल्नेबारे प्रस्ताव सीसीएमसीबाट पास भएमा यो निर्णय मन्त्रिपरिषदमा जाने छ । मन्त्रिपरिषदले पास गरेपछि मात्र भारतका लागि उडान खोल्ने औपचारिक निर्णय हुनेछ ।
भारतमा उडान खुलेपनि नेपाल आउने नागरिकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अन्य गन्तब्य सरह हुनेछन् ।
प्रस्तावअनुसार नेपाल आउन चाहने यात्रुसँग बढीमा ७२ घण्टा अगाडीसम्मको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्छ । एउटै जहाजबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन पाइने छैन ।
त्यसरी आएमा सबै होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । पीसीआर नेगेटिभ भएका नेपालीको हकमा १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ । विदेशीको हकमा अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ ।