१९ असाेज, एजेन्सी।
सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबारदेखि सुरु भएकाे नोबेल पुरस्कार घोषणा सप्ताहमा चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरिएकाे हाे ।
‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई उक्त पुरस्कार दिइएको हो । हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।
यी विजेताहरुले ‘हेपाटाइटिस सी’लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएको स्विडिस एकेडेमीले बताएको छ । नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।
सन् २०१९ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार बेलायतका सर पिटर ऱ्याक्लिफ तथा अमेरिकाका विलियम कायलिन र ग्रेग सिमेन्जालाई दिइएको थियो । उनीहरुलाई कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंगीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका कारण नोबेल पुरस्कार दिइएको थियो ।
चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए । ‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो ।
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यतर्फ अक्टोबर ८, शान्तिका लागि अक्टोबर ९ र अर्थशास्त्रका लागि अक्टोबर १२ मा विजेता घोषणा गरिनेछ ।