जनकपुरधाम २६ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ ।
मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलमसञ्जीव रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।
जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुने बताइन्छ । षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुती, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन छ ।
ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदूभाषणी गरिमयी कुलबधु , प्रकृति स्वरूपा सवल नारी, संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पुज्यनीय र अनुकरणीय मानिएको छ ।
विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडसोपचार विधिबाट पूजाअर्चना गराइने परम्परा रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास बताउँछन्।
भारतीय प्रधामन्त्री मोदीको जनकपुरधाम भ्रमण सन्दर्भमा जानकी मन्दिरमा गरिने पूजा अर्चनाका लागि मन्दिरलाई रंगरोगन गर्ने कार्य तीव्र पारिएको छ । जानकी मन्दिरको पूजाअर्चना कार्यक्रममा यस पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने भएकाले यसलाई नेपाल र भारतबीचको सम्बन्ध झन प्रगाढ हुने विश्वास लिइएको छ ।
रासस