हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

२७ बैशाख ७५, शुक्रबार

रत्ननगर, चितवन, २८ वैशाख ः चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

Advertisement

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए।

“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण संकलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।

Advertisement

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै रु २० करोडको केरा क्षति भएको जानकारी दिए । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

उनले ६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेका बताए। अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन् ।

Advertisement

उनीहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् । बीमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शत्प्रतिशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थालगत अनुगमन गरिरहेको पन्तले बताए। पन्तले आफ्नो सात बिघामा ५० प्रतिशत र अर्काे १६ विघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको जानकारी दिए ।

स्थानीयवासी शंकर सुवेदीले करीब रु ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गरे । २३ वर्षको इतिहासमै सबैभन्दा बढी केरामा नोक्सान भएको मानिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top