अविश्वासको प्रस्ताव अघि नबढाउन यामलाल कँडेललाई सुवास नेम्वाङको सुझाव

२७ असोज, काठमाडौं । पूर्वसभामुख एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएका छन् ।

उनले अविश्वासको प्रस्ताव अगाडि बढाउन नेतृत्व गरेका प्रदेश सभा सदस्य यामलाल कँडेलसँगको टेलिफोन कुराकानीमा अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएको बताए।

आफूलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाको विषयमा जानकारी भएपनि बताउँदा त्यसलाई समर्थन गरेको आशय देखिने भएकाले नबताएको उल्लेख गरे।

नेम्वाङले कर्णाली प्रदेशमा भैरहेको गतिविधिबारे आफूले टेलिफोनमा प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको बताए। नेम्वाङले प्रधानमन्त्री ओलीले पनि केन्द्रसँग सल्लाह नगरी प्रदेशमा अराजकतापूर्ण कार्य भएको टिप्पणी गरेको बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव अगाडि बढाएका छन्। ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन्।

शाहीविरूद्ध अविश्वासको प्रस्ताव अगाडि बढेपछि नेकपाका प्रदेश सभाका सचेतकले संसदीय दलको बैठक डाकेका थिए। तर दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक परिवर्तन गरेका छन्।

यसैबीच स्रोतका अनुसार कर्णाली प्रदेश सरकारमा सहभागी केही मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। पूर्वाएमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएर शाही माथि दबाब बढाउने तयारी गरेका थिए। तर केन्द्रबाट हस्तक्षेप पछि मन्त्रीहरूको राजीनामा रोकिएको छ।

कर्णाली प्रदेशकी सामाजिक विकास मन्त्री विमला केसीले अविश्वासको प्रस्ताव अघि नबढाउन केन्द्रबाट लिखित निर्देशन आउन लागेको आफूले बुझेको बताइन्।

कँडेललगायत सांसदहरू भने अहिले पनि दिउँसो १ बजेको बैठक बसेर निर्णय गर्ने पक्षमा छन्।

Scroll to Top