विराटनगरमा लाग्यो मृत्युदण्डको नारा, युवाले गरे नेतृत्व (फाेटाे फिचर)

विराटनगरमा लाग्यो मृत्युदण्डको नारा, युवाले गरे नेतृत्व (फाेटाे फिचर)

२७ असाेज, विराटनगर ।

पछिल्लो समय बलात्कारजस्ता जघन्य अपराधका घटनामा मुछिएका पीडकहरुले उन्मुक्ति पाइरहेका घटना सार्वजनिक भइरहेका छन । यो कानुनी शासन, शुन्यसहनशिलता र दण्डहीनतामाथिको ठूलो प्रश्न हो । अझ कतिपय यस्ता घटनालाई हाम्रो समाज नै खुलेआम ढाकछोप गर्न लागिपरेको छ । जसले आधुनिक विश्वलाई गिज्याई रहेको छ । निर्मला पन्त, सम्झना कामी जस्ता अन्य धेरैले अझै न्याय पाउन बाँकी छ । पक्राउ परेका र अझै फरार रहेका अपराधीहरुले उन्मुक्ति नपाउन भन्नका लागि युवाहरुले खबरदारी सुरु गरेका छन् ।

 

संक्रमणको त्रासकाबीच विराटनगरका युवाहरु एकजुट भई बलात्कारजस्ता जघन्य अपराधका घटनाविरुद्ध आवाज उठाउन थालेका छन् । उनीहरु सामाजिक दूरी कायम गर्दै सडकमा उत्रिएका छन् । रेज अगेन्स्ट रेपको नारा लगाउँदै विराटनगरका युवाहरुले मंगलबार ट्राफिक चौकमा भेला भई बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । बलात्कार, एसिड प्रहार जस्ता जघन्य अपराध गर्नेहरु खुलेआम हिँडिरहेको भन्दै अपराधीलाई मृत्युदण्डकोे सजाय हुनुपर्ने प्रदर्शनकारीहरुको भनाइ छ ।

ट्राफिक चौकमा भेला भएका युवाहरु नारा लगाउँदै नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा सहभागि भएका थिए । आक्रोशित युवाहरुले तीनै तहका सरकारमाथि प्रश्न उठाएका छन् । विराटनगर महानगरपालिका अगाडि समेत उनीहरुले केहीबेर नारा लगाएका थिए । महिला नै राष्ट्रपति भएको मुलुकमा यस्तो घटनाहरु दिनदिनै बाहिर आइरहँदा अब आफ्नो ज्यान समेत जोखिममा रहेको अनुभूति भइरहेको उनीहरुको भनाइ छ ।

सरकार अझै किन मौन र कानमा तेल हालेर बसिरहेको भन्दै चाँडो भन्दा चाँडो कडा कानुन निमार्ण गर्न र त्यसको कार्यान्वयन गर्न जरुरी रहेको उनीहरुले बताएका छन । उनीहरुले कि त बलात्कारीलाई कडा सजायको व्यवस्था गरियोस्, कि त जनतालाई बलात्कारीको फैसला गर्ने जिम्मा दिइयोस् भन्दै सवै पीडितलाई न्याय दिलाउन माग गरेका छन् । युवाहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?, न्याय चाँहियो सरकार, सरकार मौन बस्नुको कारण बलात्कारीलाई समर्थन होइन र ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.