कोरोना ‘हटस्पट’ राजधानीमै परीक्षण रोकियो

४ कात्तिक ७७, बुधबार

काठमाडौं : कोरोना संक्रमणको ‘हटस्पट’ राजधानी उपत्यकामा मंगलबारबाट कोरोना परीक्षण स्थगित भएको छ । यसअघि कन्ट्र्याक्ट ट्रेसिङका आधारमा काठमाडौं र ललितपुर महानगरपालिकाले निःशुल्करुपमा पीसीआर परीक्षण गर्दै आएको थियो ।

Advertisement

सरकारले ९ वर्गका व्यक्तिबाहेक अन्यको शुल्क लिएर मात्रै पीसीआर परीक्षण गर्न निर्देशन दिएपछि राजधानीको पीसीआर परीक्षण स्थगित भएको छ । यसअघि कामपाले दैनिक झन्डै ५ सय र ललितपुरले २ सयको हाराहारीमा पीसीआर परीक्षण गर्दै आएका थिए ।

कामपा शहरी जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले सरकारले निःशुल्क पीसीआर नगर्न निर्देशन दिएपछि मंगलबारबाट परीक्षण रोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कन्ट्र्याक्ट ट्रेसिङमा परेका ९ प्रकारका व्यक्तिबाहेक अन्यको पीसीआर परीक्षण गर्नेछैनौं ।’

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको मापदण्डअनुसार आर्थिकरुपमा विपन्न, अशक्त तथा असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।

ती बाहेकका सबै व्यक्तिले सरकारले निर्धारण गरेको शुल्क तिरेर पीसीआर परीक्षण गर्नुपर्नेछ । ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले सरकारको निर्देशनअनुसार मंगलबारबाट निःशुल्क पीसीआर परीक्षण बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो– ‘सरकारले त्यस्तै निर्देशन गरेको कारण पीसीआर परीक्षण बन्द गरेका छौं ।’ तर कन्ट्र्याक्ट ट्रेसिङलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिकाले हालसम्म ५ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षण गरिसकेको छ । तीमध्ये ५ सय ५८ जनालाई संक्रमण पुष्टि भएको गुरुङले जानकारी दिनुभयो ।

कामपाका कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले पीसीआर परीक्षण नगरेपछि कोभिड संक्रमितको अवस्था, संक्रमितसँग नजिक भएकाहरुको क्लोज कन्ट्र्याक्ट ट्रेसिङलगायतका काम जारी रहेको बताउनुभयो ।

तथ्याङ्कअनुसार कामपाले सोमबारसम्म सबै वडामा २२ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण गरेको थियो । तीमध्ये ३ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।

अब निःशुल्क पीसीआर परीक्षण बन्द भएपछि राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले मंगलबारबाट निःशुल्क परीक्षण रोकेका छन् ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top