मौलिक रूपमै रानीपोखरी

काठमाडौं : ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी मल्लकालीन स्वरूपमा फर्किएको छ। भूकम्पले भत्काएको पाँच वर्षपछि रानीपोखरीको पुनर्निर्माण मौलिक स्वरूपमै सम्पन्न भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जल अर्पण गरी रानीपोखरी उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरतीसमेत लिइन्। त्यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए। राष्ट्रपति भण्डारीले नै २०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माण कार्यको शिलान्यास गरेकी थिइन्।

२०७२ वैशाख १२ को भूकम्पले रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भत्काएको थियो। बालगोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट शैली (शिखर शैली)मा निर्माण भएको छ। भूकम्पले भत्किनुअघि गुम्ब शैलीको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले रानीपोखरी पुरानो मौलिक शैलीमै फर्किएको जानकारी दिए। प्रवक्ता अर्यालका अनुसार पोखरी र मन्दिर पुनर्निर्माणमा झन्डै २८ करोड रुपैयाँ खर्च भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट पानी ल्याएर पोखरीमा हालिएको उनको भनाइ छ। १२३.७ किलोे तामाबाट बनेको र सुनको जलप लगाइएको गजुर गत असोज १५ गते स्थापना गरिएको थियो।

सम्पदा एवं संस्कृतिविद् डा. गोविन्दप्रसाद टण्डनले पुरानै शैलीमा रानीपोखरीको पुनर्निर्माण हुनु राम्रो कुरा भएको बताए। ‘पुरानै शैलीमा आयो, यो राम्रो हो’, संस्कृतिविद् टण्डनले भने, ‘प्रताप मल्लकालीन शिखर शैलीमै बन्यो। यो सबैका लागि खुसीको कुरा हो।’ उनले पोखरी वरिपरिका धारा सुकेकाले पानी व्यवस्थापन कसरी हुन्छ भन्ने विषय गम्भीर रहेको बताए। उनका अनुसार भोटाहिटीको ढुंगेधारा, छग्गु: ठ: हिटी, तीनधारा पाठशाला सुकिसके। भूमिगत बाटो बनाएर पानी आउने जाने प्रणाली २०४१ सालमा बन्द गरियो।

अर्का सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले पुरानो इतिहास फर्काउन सकेकामा खुसी व्यक्त गरे । जनताको भावनात्मक सम्बन्ध जोडिएको रानीपोखरीको पुनर्निर्माणबाट आएको जागरण सन्देश संस्कृति र सम्पदाको संरक्षणमा ठूलो उपलब्धि भएको उनको ठम्याइ छ।

खेर गयो ४ करोड खर्च
पोखरी पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको थियो। मन्दिरमा पुरातत्व विभागले काम गर्ने निर्णय भई पुनर्निर्माण अघि बढाइएको थियो। तर, शिलान्यासपछि सिमेन्ट प्रयोग गरिएको भन्दै सम्पदाकर्मीले व्यापक विरोध गरेका थिए। यसले गर्दा तीन वर्ष काम प्रभावित भयो। बनाइएका संरचना पनि भत्काउनुपर्दा करिब ४ करोड रकम खेर गएको थियो।,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

Scroll to Top