यसपालि थारू बस्तीमा नाचिएन सखिया

८ कात्तिक ७७, आइतबार

कञ्चनपुर : एक महिनाअघिदेखि नै सखिया नृत्य सुरु हुन्थ्यो । धानबाली भित्र्याएपछि घरआँगन लिपपोत गरेर चिटिक्क पारिन्थ्यो । परम्परागत खानाका विभिन्न परिकार बनाउन व्यस्त देखिन्थे महिलाहरू ।

यो माहोलले थारू बस्तीमा दसैं नजिकिन लागेको संकेत गर्थ्यो । तर यसपटक दसैं नजिकिए पनि थारू बस्तीहरू सुनसान छन् । न कुनै सांस्कृतिक कार्यक्रम न त चहलपहल ।

‘यसपालि त कोरोनाले दसैं सुनसान बनेको छ,’ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीका अध्यक्ष नरेन्द्र चौधरीले भने, ‘परम्परा जोगाउन दसैंका दिन मात्रै भए पनि एकाध घण्टा सखिया नृत्य गर्ने तयारीमा छौं ।’ थारू बस्तीमा बैरी नलागुन् भनेर सखिया नृत्य आयोजना गरिन्छ । थारू भाषामा यसलाई ‘गाउँलाई जगाउने’ भनिन्छ । देवीदेवताको नाम लिएर यसको शुभारम्भ गरिन्छ । सुरुदेखि दसैंका दिनसम्म बडघरमा सखिया नृत्य प्रदर्शन गरिन्छ । दसैंका दिन पनि बडघरकै घरमा टीका लगाइन्छ । यदि कुनै वर्ष यो नृत्य गर्न नसके गाउँमा अनिष्ट हुने र अर्को वर्ष ठूलो पूजा गर्नुपर्ने हुन्छ ।

Advertisement

‘सखिया नाचमात्रै रोकिएको होइन, यसपालि गाउँमा दसैंको कुनै चहलपहल छैन,’ अध्यक्ष चौधरीले भने, ‘कोरोनाका कारण सबै गतिविधि ठप्प भएका छन्, हामीले पनि भीडभाड नगर्न भनेका छौं ।’ उनले दसैंका तीन दिन एक–एक घण्टा मात्रै सखिया नृत्य हुने निर्णय भएको जानकारी दिए । त्यसमा पनि भीडभाड कम गरेर मात्रै नृत्य गर्न भनिएको छ ।

पिपलाडीमा ३ सयभन्दा बढी थारू परिवार छन् । पिपलाडीसँगै जोडिएको जोनापुरीमा पनि थारू समुदायकै बाहुल्य छ । यी दुई बस्तीमा दसैंका बेला बेग्लै चहलपहल हुन्थ्यो । परम्परादेखि चलिआएका रीतिरिवाज र संस्कृतिहरू यहाँ सहजै देख्न पाइन्छ ।

Advertisement

‘अहिले त दसैं आएजस्तो लाग्दैन,’ पिपलाडीकै पतिराम चौधरीले भने, ‘गाउँ सुनसान छ, नाचगानदेखि किनमेल सबै बन्द छ ।’ उनका अनुसार दसैँ अगाडि कुखुरा खोज्दै गाउँ डुल्ने, बालबालिकादेखि सबैका लागि नयाँ लुगा किन्ने, पिठो, चामल कुटानीपिसानीका लागि भ्याइनभ्याइ हुन्थ्यो । तर यसपाला भने जताततै कोरोनाले गर्दा सुनसान छ । धान काट्ने काम भ्याएर १५ दिनअगाडि नै लिपपोत गरिन्थ्यो । महिलाहरू माछा मार्न गाउँ चहार्थे । यस पटक दसैं ढिलो भएका कारण धानबाली भित्र्याउने काम सकिएको छ । ‘अब त पुर्खाले बसालेको थिति र परम्परा जोगाउन पनि गाह्रो हुने दिन आए,’ पतिरामले भने, ‘पुर्खादेखिको चलन मान्न पनि नसकिने भयो ।’ उनले युवापुस्ताले जेनतेन परम्परा धानिरहेको बताए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top