उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण

११ कात्तिक ७७, बुधबार

१२ कात्तिक, रसुवा ।

Advertisement

उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण गरिएको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल बेत्रवाती संरक्षण गरी दिवंगतको दाहसंस्कार एवं प्रत्येक वर्ष पितृका सम्झनामा गरिने पिण्डतर्पणका कार्य सहज पार्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा नदी किनारमा तटबन्ध गरिएको हो ।

वाग्मती प्रदेश सरकारको रू छ करोड सहयोगअन्तर्गत तटबन्ध तथा अन्य पूूर्वाधारका काम अगाडि बढाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताए । फलाखुको पुरानो झोलुङ्गे पुलमुनिदेखि पश्चिमको दुई नदी मिश्रण भएको स्थान हुँदै त्रिशूलीको शवदाहगृह आसपाससम्म करीब दुई सय मिटर भूभागको नदी किनारमा तारको जाली तथा सिमेन्टको पर्खाल लगाई नदी नियन्त्रण गरिएको बताइएको छ ।

Advertisement

नदी नियन्त्रणका साथै शौचालय तथा विश्रामगृह, स्नानपछि लुगा फेर्नका लागि चार कोठा समेतका पूर्वाधार तयार भइसकेको बताउँदै गापा अध्यक्ष लम्सालले समग्रको काम ९० प्रतिशत पूरा भएको बताए ।

उत्तरगया धाम संरक्षणका लागि रू १० करोड लाग्ने विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । दोस्रो चरणअन्तर्गत निलाद्री पर्वत जानेक्रममा फलाखुको संगमस्थलमा शंकरले बेतको लौरीबाट उत्पन्न गराएको भनिने जल उत्खनन गरी बाहिर निकाल्ने योजना रहेकोे गाउँपालिकाले जनाएको छ ।

Advertisement

विसं २०१८ मा फलाखु खोलामा बाढी आउँदा पुरिएको तातो पानी २०४९ मा योगी नरहरिनाथले नेपाली सेनामार्फत उत्खनन गराएको बेत्रावतीका समाजसेवी वयोवृद्व मोहनबहादुर थापाले बताए ।

यसै गरी तप्त कुण्ड, शिव मूर्ति तथा बौद्ध स्तूप, पौषेऔँसीमा गरिने पिण्ड तर्पणका लागि श्राद्ध उद्यान, मरणपाटी र अन्य धार्मिक आस्था बढाउने खालका संरचना बनाउने कार्य योजना रहेको जनाइएको छ । रसुवा र नुवाकोटको सिमानामा अवस्थित उक्त धाममा दाहसंस्कार, पिण्डतर्पण, हरिबोधिनी एकादशीमा फूलको डोली तार्ने जस्ता कार्य हुँदै आएको छ ।

पवित्र तीर्थ गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आद्र्रकुण्ड, दूधकुण्ड, रिभरकुण्ड, गोपुकुण्डलगायत दर्जनौँ कुण्डको पवित्र जल मिसिएर आउने थलो भएकाले बेत्रावतीबाट प्रवाह हुने त्रिशूली नदीको जल आमनागरिकले पवित्र मान्दै आएका छन् ।

नेपाल तिब्बत भएको युद्धमा नेपाली फौजले विजय प्राप्त गरेपछि नेपाल र तिब्बतबीच विसं १८४९ मा बेत्रावती सन्धि त्यहीँ भएको इतिहासविद्ले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top