एक सातादेखि निरन्तर छलफल गरे पनि कांग्रेस शीर्ष नेताहरूबीचको असमझदारी हटेन

एक सातादेखि निरन्तर छलफल गरे पनि कांग्रेस शीर्ष नेताहरूबीचको असमझदारी हटेन

२३ कार्तिक, विराटनगर ।
कांग्रेस शीर्ष नेताहरू पार्टीभित्रको असमझदारी हटाउन एक सातादेखि निरन्तर छलफलमा छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति हल गर्न लगातार शीर्ष नेताका बैठक राखेका हुन। तर, तीन समूहका करिब दुई दर्जन नेता सहभागी अनौपचारिक बैठकले अझै सहमतिको बाटो पहिल्याउन सकेको छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेको १६ बुँदे असहमतिका बुँदाबारे पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित बैठकमा छलफल भए पनि कुनै निर्णय भएको छैन।

पौडेल पक्षले महाधिवेशन सुनिश्चितता, सभापतिले गठन गरेका विभाग खारेजी र विधिविधान अनुसार पार्टी सञ्चालनलगायत माग राखेका छन्। सहमति खोज्न दिनहुँजसो शीर्ष नेता बैठक बसे पनि अहिलेसम्म कुनै निकास निस्केको छैन।

आज पनि देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलाई निरन्तरता दिँदैछन्। सोमबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। आफूहरूले राखेका मागको सुनुवाइ नभए केन्द्रीय समिति बैठक चल्न नदिने पक्षमा पौडेल पक्ष छ।

देउवाले महाधिवेशन फागुनबाट पर धकेल्न खोजेको आरोप पौडेल पक्षको छ भने क्रियाशील सदस्यता तोकआदेशको भरमा दिएकोमा असन्तुष्टि छ। अरू पार्टीबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारसहितका नेतालाई कांग्रेसले केन्द्रबाटै क्रियाशील सदस्यता दिएको छ।

तर उनीहरूका कार्यकर्तालाई पनि केन्द्रबाटै क्रियाशील दिइएको भन्दै यो प्रक्रियाअनुसार नभएको पौडेल पक्षको आरोप छ। उनीहरूलाई पार्टीको तल्लो तहबाट नै क्रियाशील सदस्यता दिइनुपर्नेमा पौडेल छन्।

फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका भए पनि त्यसअनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणका काम भएका छैनन्। पौडेल पक्षले फागुनमा महाधिवेशन गर्न सकिने जिकीर गर्दै आएको छ।

तर सभापति देउवा महाधिवेशन जेठ वा भदौमा गर्ने पक्षमा छन्। सोमबार बस्ने केन्द्रीय कार्यसमितिको मुख्य एजेन्डा नै महाधिवेशन मिति र कार्यतालिकाबारे हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.