२५ कात्तिक, काठमाडौं।
कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।
६ राष्ट्रका ४३ हजार पाँच सय ब्यक्तिमा गरिएको परीक्षणको क्रममा सुरक्षाको कुनै सबाल नउठाइएको खोप अन्वेषणकर्ताले दाबी गरेका छन् । कम्पनीले यसै महिनाको अन्त्यसम्म आकस्मिक अनुमतिको तयारी गरेको छ । राम्रो उपचार पद्धतीसँगै खोपको प्रयोगले विश्व समुदायमा लागेको प्रतिबन्धबाट उन्मुक्ति पाउने विश्वास गरिएको छ ।
बिगत्मा गरिएको ट्रायलले खोप लगाएपछि शरीरमा एन्टीबडी बनाउनुका साथै प्रतिरक्षा प्रणाली ‘टी सेल्स’ निर्माणमा सहयोगि सिद्ध भएको छ । तीन साताको अन्तरालमा दुई डोज आवश्यक पर्नेछ । अमेरिका, जर्मनी, ब्राजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको ट्रायलले दोस्रो डोज लगाएको सातदिनभित्र ९० प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ ।
बीबीसीका अनुसार पीफिजरले यसै वर्षको अन्त्यसम्म खोपको पाँच करोड डोज उपलब्ध गराउने विश्वास गरेको छ । सन् २०२१ को अन्त्यसम्म एक अर्ब २१ करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ । तर खोप आपूर्तिको क्रममा सबैतर्फ पहुँच बढाउन चुनौतीपूर्ण हुने कम्पनीले जनाएको छ । खोप आपूर्तिका लागि माइनस ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्नेछ ।
कम्पनीले भने अझै एक पटक खोप लगाएपछि कति दिनसम्म काम गर्ने र कुन उमेर समूहमा कत्तिको प्रभावकारी हुने सम्बन्धमा खुलाएको छैन।
फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ति यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध रोेक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’
हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ ।