कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने

कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने

४ मंसिर, काठमाडौँ ।

कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । श्वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई सुरुमा वीर अस्पताल भर्ना गरिएको थियो । कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो भने अवस्था बिग्रिन लागेको थियो । त्यसपछि उनलाई कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

विश्वकर्मालाई थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर, कोरोना संक्रमित भएको र भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भन्दै नेपालमा नै उपचार भइरहेको हो । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

यसका साथै बैठकमा केही बढुवा र नियमित एजेन्डामा छलफल तथा निर्णय भएको ती मन्त्रीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.